बक्सिङको एसियाड छनोटमा आर्मीको बर्चस्व

काठमाण्डौ, २९ चैत्र । बक्सिङ खेलको एशियाली छनोटमा आर्मीका खेलाडीको बर्चस्व रहेको छ ।

बिहीबार पुरुषतर्फ ४९ केजी तौल समूहमा आर्मीका तेजबहादुर देउवाले सुनसरीका सुलभ तुलाधरलाई अंकका आधारमा हराउँदै एशियाली खेलका लागि छनोट पक्का गरेका छन् । त्यस्तै पुरुष ५६ केजी तौल समूहमा आर्मीका बिमल रोकाले एपीएफका पुरन राईलाई अंकका आधारमा हराउँदै छनोट भएका छन् ।

पुरुष ६० केजीमा आर्मीका एकबहादुर घले छनोट भएका छन् । उनले झापाका प्रकाश इजम लिम्बुलाई अंकका आधारमा हराएका थिए । पुरुषतर्फनै ६४ केजीमा नेपाल पुलिसका भुपेन्द्र थापा र ७५ केजीमा आर्मीका दिपक श्रेष्ठ प्रतिस्पर्धा नभएका कारण स्वतःछनोटमा परेका छन् ।

सातदोबाटोस्थित बक्सिङ रिङमा भएको महिलातर्फको ५७ केजी तौल समूहमा एपीएफका संगिता सुनारले आर्मीकी सविना श्रेष्ठलाई अंकका आधारमा हराउँदै छनोट भएकी छन् । त्यस्तै महिला ६० केजीमा आर्मीकी पुनम रावलले एपीएफकी सरस्वती रानामगरलाई अंकका आधारमा हराउँदै छनोट चरण पार गरेकी छन् ।

महिला ५१ केजी तौल समूहमा एपीएफकी माला राई फाईनलमा प्रवेश गरेकी छन् । उनले सेमिफाईनलमा आर्मीकी ललिता महर्जनलाई अंकका आधारमा हराएकी थिइन् । शुक्रबार हुने फाईनल भिडन्तमा मालाले आर्मीकी बिमला श्रेष्ठसग अन्तिम छनोटका लागि प्रतिस्पर्धा गर्ने छिन् । शुक्रबारै पुरुष ५२ र ६९ केजीको छनोट खेल हुनेछ ।

छनोट कार्यक्रममा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतको उपस्थिति रहेको थियो ।