नेपाली युवतीलाई अवैध रूपमा भारत लैजाने २ युवक पक्राउ

झापा, २९ चैत्र । नेपाली युवतीलाई भारत लैजाने दुई युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

भद्रपुर ४, ज्ञानेचोक निवासी २४ वर्षीया युवतीलाई अवैध बाटो प्रयोग गरी भारत लैजाने कचनकवल गाँउपालिका ७ निवासी ३२ वर्षीय हर्कबहादुर लिम्बु र सोही ठाँउका २८ वर्षीय अम्मरबहादुर भुजेललाई पक्राउ गरेको हो ।

कचनकवल गाँउपालिका ७ स्थित पाठामारी नाकाबाट भारतको विहार राज्यस्थित किशनगञ्ज जिल्ला अन्तर्गतको ठाकुरगञ्ज रेल्वे स्टेशन लैजाने नेपाली युवतीलाई उद्धार गर्दै भुजेल र लिम्बुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाका सशस्त्र प्रहरी उपरीक्षक रमेश सुवेदीले जानकारी दिए ।

मे ८ प ९९६ नम्बरको स्कुटरमा सवार युवतीसहित युवकद्वयलाई विशेष सुराकीको आधारमा सशस्त्र प्रहरीले बिहीवार दिउँसो पक्राउ गरिएको हो । उद्धार गरिएका युवतीको साथबाट नेपाली नागरिकता फेला परेको छ ।

ती युवतीलाई भद्रपुर ४ निवासी दुर्गामाया गुरुङले ती युवकद्वयलार्इ प्रयोग गरी भारतको दिल्ली पठाउनलाई ठाकुरगञ्जसम्म पुर्याउने जिम्मा दिएको अनुसन्धानको क्रममा खुलेको सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले बताए ।

युवतीलाई दिल्लीबाट कुवेत पठाउने योजना बनाइएको थियो । उद्धार गरिएको युवती र ती युवकहरूलाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीलाई जिम्मा लगाइएको छ ।