Breaking News

वैशाख ८ गते सम्पदा पदयात्रा गरिने

काठमाण्डौ, २९ चैत्र । अन्तराष्ट्रिय सम्पदा दिवशको सन्दर्भमा वैशाख ८ गते हनुमानढोकादेखि स्वयम्भूसम्म सम्पदा पदयात्रा हुने भएको छ ।

विश्व सम्पदा उत्सव मूलसमारोह समितिका संयोजक एवं काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले बिहीबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै एक विश्व सम्पदास्थल हनुमानढोकादेखि अर्को विश्व सम्पदास्थल स्वयम्भूसम्मका ऐतिहासिक महत्व बोकेका धेरै सम्पदाबारे जानकारी गराई तीनका संरक्षण तथा प्रचारप्रसार गर्न पदयात्रा गरिन लागेको जानकारी दिए ।

आगामी वैशाख ५ गते परेको अन्तराष्ट्रिय सम्पदा दिवशका अवसरमा उक्त समितिले वैशाख २ गतेदेखि सरसफाइ, खेलकुद, चित्रकला प्रदर्शनीलगायतका सप्ताहव्यापी कार्यक्रम गर्ने जनाएको छ ।

स्थानीय बाजागाजा, झाँकी, सेना, प्रहरी, विद्यार्थी, खेलाडीलगायतको सहभागिता रहने उक्त यात्राको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले हनुमानढोकामा उद्घाटन गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयम्भू भूइँखेल मैदानमा समापन गर्ने कार्यक्रम रहको शाक्यले जानकारी दिए ।

प्रमुख शाक्यले संरक्षणका अभावमा पुराना सम्पदा जीर्ण बन्दै गएको अहिलेको अवस्थामा पदयात्राले त्यस क्षेत्रमा रहेका विभिन्न सम्पदाबारे जनचेतना अभिवृद्धि गर्ने बताए ।

स्थानीय मरु गणेश, काष्ठमण्डप, मरु हिटी, सन्तानेश्वर महादेव, मरु बही, बन्जा हिटी, दमाई टोल, नरदेवी, लोकेश्वर मूर्ति, भूइँखेल हुँदै स्वयम्भूसम्मको पदयात्राको मार्ग व्यवस्थापन गरिएको समितिले जनाएको छ ।

shares