Breaking News

अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधि: प्रधानमन्त्री अोली

भक्तपुर, २९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधि भएको बताएका छन् ।

नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक–हुद्दा क्याडेट तालिमको आयुक्त पद प्रधान कार्यक्रमलाई बिहीबार नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आतंककारी गतिविधिले शान्ति सुरक्षा, अर्थतन्त्र र सामाजिक एकतामा प्रत्यक्ष आघात पार्ने भएकाले यसप्रति सरकार सचेत रहेको बताए ।

देशभित्र हिंसात्मक गतिविधिमा क्रियाशील अतिवादी तत्वहरू, अन्तराष्ट्रिय आतंककारी गतिविधिको चुनौतीहरू साथै क्षेत्रीय र जातीय विद्वेषमा आधारित द्वन्द्वहरू अहिलेका वास्तविक खतरा भएको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले लामो अस्थिरतापछि देश स्थायित्वतर्फ अग्रसर भएको बताउँदै स्थायित्वको जगमा नेपालको विकास वर्तमान सरकारको लक्ष्य रहेको जिकिर गरे । त्यस्तै उनले नेपाली सेनाले राष्ट्र निर्माणका लागि नेपाली जनतासँग काँधमा काँध मिलाउँदै आएकोमा प्रशंसा गरे ।

दुई वर्षे सो तालिममा उत्कृष्ट भएकालाई प्रधानमन्त्रीले सम्मान गरेका थिए । सि.सं ५६ अधिकृत क्याडेट तालिममा पुरुषतर्फ प्रशान्त खड्का, महिलातर्फ सलिना खड्का सर्वोत्कृष्ट भए । त्यसैगरी सिसं ४६ का पदिक-हुद्दा क्याडेट तालिममा नारायण चौलागाई सर्वोत्कृष्ट भए । अधिकृत क्याडेट र पदिक-हुद्दा क्याडेट गरी तालिममा एक सय ६२ जनाको सहभागिता रहेको थियो ।

shares