Breaking News

एमाले–माओवादी केन्द्रबीचको एकता समानताकै आधारमा हुन्छ: भीम रावल

काठमाण्डौ, २९ चैत्र । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले–माओवादी केन्द्रबीचको एकता समानताकै आधारमा हुने स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले पार्टी एकता समानताकै आधारमा हुने स्पष्ट पारेका हुन् । उनले पार्टी एकताको गृहकार्य भैरहेकोले अब बस्ने एकता संयोजन समितिको बैठकमा ठोस छलफल हुने जनाए ।

एकताका लागि संगठनको खाका निर्माणको आन्तरिक छलफल भइरहेको पनि उनले बताए । फरक प्रसंगमा उनले आफूहरूले संविधानमै स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघको बडापत्र, स्वतन्त्र परराष्ट्र नीतिका अन्तर्राष्ट्रिय मूल्य र मान्यताहरू, पञ्चशीलको सिद्धान्त अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनको कुरा गरेको बताए ।

नेता रावलले प्रधानमन्त्रीको भारत भ्रमणका समयमा भएका सहमति सम्झौता कार्यान्वयनमा जोड दिए । रावलले चीनको भ्रमण पनि प्रधानमन्त्रीले गर्नुपर्ने भन्दै दुईदेशबीचको सम्बन्ध समानान्तर ढंगले अघि बढाउनुपर्ने धारणा राखे ।

त्यस्तै उनले नेपालको अर्थतन्त्रलाई अघि बढाउनको लागि नेपालको तराईमा पूर्व–पश्चिम रेल चल्नुपर्ने बताए । त्यस्तै रावलले नेपालमा जलमार्ग बनाउने कुरा धेरै पहिल्यैदेखि नै उठ्दै आएको पनि सुनाए ।

shares