Breaking News

२ दिन सार्वजनिक बिदा थप्ने प्रदेश १ सरकारको निर्णय

विराटनगर, २९ चैत्र । प्रदेश-१ सरकारले संघीय सरकारले कटौती गरेको सार्वजनिक बिदामा दुईदिन थप गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बिदासम्बन्धी निर्णय गरेको हो । थपिएको बिदामा आदिवासी जनजाति दिवस र हिन्दूको चाड जनैपूर्णिमा रहेको छ । यस्तै, केन्द्र सरकारले छठ मनाउने जिल्लाहरूमा मात्रै छठ बिदा दिने निर्णय गरेको भएतापनि उक्त दिन प्रदेशभरि नै बिदा दिने निर्णय गरेको छ ।

यस्तै, मन्त्रिपरिषद्को बैठकले गाउँसभा र नगरसभा सञ्‍चालन कार्यविधि सम्बन्धमा व्यवस्था गर्नका लागि बनेको विधेयक र प्रदेशका केही सार्वजनिक लिखत प्रमाणीकरणका विधेयक पनि पारित गर्दै प्रदेश सभामा पेस गर्ने निर्णय गरेको छ । प्रदेशको राजपत्र प्रकाशित गर्ने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको छ।

उक्त राजपत्रमा सरकारको अध्यादेश, ऐनहरू, नियमावली र सूचना क्रमशः पहिलो, दोस्रो र तेस्रोमा प्रकाशित गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा योजनामन्त्री हिक्मत कार्कीले बताए ।

shares