काठमाण्डौ महानगरको नमूना काम: अाधारभूत तहको नतिजा डिजिटल प्रविधिमा

भानुभक्त बिष्ट/काठमाण्डौ, २९ चैत्र । काठमाण्डौ महानगरपालिकाले अाधारभूत तह कक्षा ८ को अन्तिम परीक्षाको नतिजा पहिलो पटक डिजिटल प्रविधिको प्रयोग गरी सार्वजनिक गरेको छ ।

काठमाण्डौ महानगरपालिका शिक्षा विभागद्वारा बिहीबार राष्ट्रिय सभागृहमा अायोजित कार्यक्रममा कक्षा ८ को ग्रेडसिट तथा २०७५ सालको क्यालेन्डर सार्वजनिक गरेको हो । महानगरका ३२ वटा वडाभित्रका ७८ सामुदायिक र ४ सय ७९ निजी गरी ५५७ विद्यालयहरूबाट कुल १८ हजार ७ सय ४१ परीक्षार्थीहरूको सहभागिता रहेको कक्षा ८ को नतिजा पहिलो पटक इन्टरनेटको प्रयोग गरी रजिष्ट्रेशन नंबर र जन्म मिति राखी डिजिटल फर्म्याटमा हेर्न सकिने भएको छ । शिक्षालार्इ स्थानीय मातहतमा गाभिएपछि नेपालमै नमूनाको रूपमा डिजिटल प्रविधि प्रयोग गरी अाधारभूत तहको रजिष्ट्रेशन दर्ता र नतिजा वितरण गर्न महानगर सफल भएको हो ।

कार्यक्रमको सभाध्यक्षसमेत रहेका काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अरुलार्इ तल झारेर भन्दा पनि कमजोरलार्इ माथि उकास्ने र हातेमालो गरेर गुणस्तरीय शिक्षाका लागि सबैको सल्लाह र सुझाव लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी उपमेयर हरिप्रभा खड्गीले निजी विद्यालयमा मोटो रकम तिरेर वर्षेनी भर्ना गर्ने प्रचलनको अन्त्य गर्ने र प्रतिस्पर्धात्मक वातावरणमा गुणात्मक शिक्षा प्रदान गर्न स्थानीय सरकारको प्रयास रहने बताइन् ।

उक्त कार्यक्रममा कक्षा ८ को अौसत नतिजालार्इ विभिन्न हिसावले वर्गीकरण गरी प्रस्तुत गरिएको थियो । ११ वटा स्रोतकेन्द्रमध्ये  ३ दशमलव १४ जिपीए ल्याएर गुहेश्वरी स्रोतकेन्द्र प्रथम, रत्नराज्य स्रोतकेन्द्र दोस्रो र पद्मकन्या स्रोतकेन्द्र तेस्रो स्थान हासिल गर्न सफल भएको नतिजाले देखाएको छ । वडाको हिसावले हेर्दा ३१ नं वडा प्रथम र ३० नं वडा दोस्रो देखिन्छ । लैंगिक हिसावले छात्रको तुलनामा छात्राको नतिजा राम्रो देखिएको, लगानीको हिसावले सामुदायिकको तुलनामा निजी राम्रो र विषयगत हिसावले स्वास्थ्य तथा जनसंख्या विषयको अौसत नतिजा उत्कृष्ट रहेको तर गणित र नेपालीको नतिजा कमजोर देखिएको काठमाण्डौ महानगर शिक्षा विभाग प्रमुख प्रल्हाद अर्यालले जानकारी गराए ।

कार्यक्रममा मेयर र उपमेयरलगायत वडाध्यक्षहरू, शिक्षा समितिका व्यक्तित्वहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक एवं प्रतिनिधिहरू र मिडियाकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रममा सबैजसो वक्ताहरूले प्रविधिमैत्री शिक्षाको विकासमा जोड दिए । कार्यक्रमको अौपचारिक समापनको घोषणा मेयर शाक्यले गरेपनि अनौपचारिक रूपमा चियापानपश्चात मात्र टुंगिएको थियो ।