प्रहरी महानिरीक्षकलार्इ दर्ज्यानी चिन्ह प्रदान

काठमाण्डौ, २९ चैत्र । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

बिहीबार बिहान गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले खनालद्वयलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । कार्यक्रममा खनालद्वयले देश र जनताका लागि समर्पित भएर काम गर्ने बताए । प्रहरीका महानिरीक्षक खनालले पदीय चुनौतिलाई अवसरमा परिणत गर्ने भन्दै सशस्त्र प्रहरी बलसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता पनि जनाए ।

पदीय जिम्मेवारीसँगै चुनौति पनि रहेको भन्दै उनले यसलाई आफूले अवसरको रूपमा लिएको धारणा राखे । सशस्त्र प्रहरीका महानिरीक्षक खनालले ऐन नियमअनुसार इमान्दारीतापूर्वक काम गर्ने र चेन अफ कमाण्ड कायम गर्ने बताए । खनालले आतंककारी गतिविधि र समाजमा खलल पु¥याउने कामलाई रोक्नका लागि क्रियाशील हुने उल्लेख गरे ।

गृह मन्त्रालयका सचिव प्रेम कुमार राईले कार्ययोजना बनाएर काम गर्न सुझाव दिंदै कर्मचारीहरूको वृत्ति विकासमा ध्यान दिन पनि आग्रह गरे । यसअघि मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले सर्वेन्द्र र शैलेन्द्रलाई महानिरीक्षक पदमा नियुक्त गरेको थियो । प्रहरी महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले बुधबार ३० वर्षे सेवा अवधिबाट अनिवार्य अवकाश पाएका थिए ।