जनतालाई घरबारबिहिन बनाएर योजना निर्माण गर्ने नियत सरकारको छैन: मन्त्री पोखरेल

काठमाण्डौ, २८ चैत्र । रक्षा मन्त्री ईश्वर पोखरेलले फास्ट ट्रयाक निर्माणका क्रममा देखिएको मुआब्जाको विषयलाई पुनरावोलकन गरिने बताएका छन् ।

बुधबार सैनिक मुख्यालय भद्रकालीमा ललितपुरको खोकनाबासीका मागका विषयमा नेपाली सेनाले गरेको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । त्यस्तै उनले स्थानीय जनतालाई विस्थापित हुन नदिनको लागि सबै उठेका विषयलाई गहन छलफल गरी प्रकृयागत रुपमा निर्णय गर्ने आश्वासन पनि दिए ।

मन्त्री पोखरेलले जनतालाई घरबारबिहिन बनाएर योजना निर्माण गर्ने नियत सरकारको नरहेको भन्दै खोकनाबासीको समस्याको समाधान खोजिने धारणा राखे । छलफलमा माओवादी सांसद पम्फा भुषालले आयोजना बन्न सहयोग गर्नु पर्ने तर समय सापेक्ष अनुसार मुआब्जा उपलब्ध गराउन उर्पयुक्त हुने विचार व्यक्त गरेकी थिइन् ।

 

मूल्यांकन अपुग तथा समय सापेक्ष नभएको भनी खोकनाका स्थानीय बासिन्दाहरूले मुआब्जा नबुझी विरोधका कार्यक्रमहरू गर्दै आएपछि सेनाले छलफल कार्यक्रमको आयोजना गरेको थियो । उक्त आयोजनाको अधिकार सम्पन्न निर्देशक समितिका अध्यक्ष बलाधिकृत रथी पूर्णचन्द्र थापाले फास्ट ट्रयाकका क्रममा खोकनामा देखिएको समस्यालाई छिटै समाधान गर्नुपर्ने बताएका थिए ।

छलफलमा सहभागी स्थानीयले जग्गाको समयानुकुल उचित मुआब्जा दिन र उक्त क्षेत्रको ऐतिहासिक सांस्कृतिक सम्पदाको संरक्षणमा पहल गर्न आग्रह गरेका थिए ।