अन्तर्राष्ट्रिय मानवअधिकार सम्मेलन ‘काठमाडौं घोषणा पत्र’ जारी गर्दै सम्पन्न

काठमाण्डौ, २८ चैत्र । काठमाडौं घोषणा पत्र जारी गर्दै अन्तर्राष्ट्रिय मानवअधिकार सम्मेलन सम्पन्न भएको छ ।

दण्डहीनताको अन्त्य तथा मानव अधिकार उपभोगको सुनिश्चितताका सम्बन्धमा दक्षिण एशियाली राष्ट्रहरूमा देखिएका समस्या तथा प्रगतिको सम्बन्धमा छलफल गर्दै सम्मेलन सम्पन्न भएको मानवअधिकार आयोगले जनाएको छ । सम्मेलनले नागरिकको बाँच्न पाउने अधिकारमाथि हनन गर्दै म्यान्मार लगायतका क्षेत्रमा भइरहेको आक्रमणको घोर भर्त्सना गरेको छ ।

त्यस्तै राजनीतिक स्थायित्वसंग नेपालमा मानवअधिकार क्षेत्रलाई हस्तक्षेपमुक्त बनाउनु पर्नेमा सम्मेलनले जोड दिएको छ । समापन कार्यक्रममा कानुनमन्त्री शेरबहादुर तामाङले संविधानको प्रस्तावनामै मानवअधिकारका मूलभूत मान्यताहरू उल्लेख गर्दै तिनको प्राप्तिका लोकतान्त्रिक पद्धतिप्रति प्रतिबद्धता उल्लेख भएको धारणा राखे ।

सम्मेलनमा अफगानिस्तान, बंगलादेश, भारत, माल्दिभ्स, पाकिस्तानलगायतका विभिन्न २० राष्ट्रका ५० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो भने दक्षिण एसिया तथा एसिया प्रशान्त क्षेत्रमा विद्यमान दण्डहीनता, संक्रमणकालीन न्याय, अभिव्यक्ति स्वतन्त्रता, महिला तथा सीमान्तकृत समुदायलगायत मानव अधिकारका प्रमुख सवालहरूमा विज्ञहरूबाट कार्यपत्र प्रस्तुत गरिएको थियो ।