Breaking News

सामाजिक सद्भाव कायम राख्दै राष्ट्रिय एकताका साथ अघि बढ्नुपर्छ: प्रधानमन्त्री

काठमाण्डौ, २८ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सद्भाव कायम राख्दै राष्ट्रिय एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन‍् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५२ औं वार्षिक साधारणसभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न जातजाति वर्ग समुदायबीच सद्भाव कायम राख्दै राष्ट्रिय एकताका साथ अघि बढ्नुपर्ने बेला आएको बताएका हुन् ।

अहिले पनि केही तत्वहरू सामाजिक सद्भाव बिगार्न सक्रिय भइरहेको भन्दै प्रधानमन्त्री ओलीले नेपाललाई रुवान्डा बनाउन नदिन एकताबद्ध ढंगले अघि बढ्नुपर्ने जिकिर गरे । उनले सरकारको लक्ष्य आर्थिक विकास र सुशासन रहेको भन्दै हिसांजन्य गतिविधि सह्य नहुने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले नेपाल र अन्य मुलुकबीच जल र रेल मार्गबाट सम्बन्ध जोड्दै अघि बढ्ने भन्दै यसका लागि सर्भे सुरु गर्ने जानकारी दिए । त्यस्तै उनले मुलुकका विभिन्न स्थानमा विशेष आर्थिक क्षेत्र सेजको निर्माणलाई तिव्रता दिने, बाह्य लगानी नेपाल भित्र्याउन अन्य मुलुकसंग छलफल गर्नेसमेत उल्लेख गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जलविद्युत क्षेत्रमा लगानी गर्दा देखिएको समस्या समाधान गर्नुपर्ने, औद्योगिक क्षेत्रका लागि जग्गा समस्या तथा औधोगिक निर्माणका क्षेत्रमा देखिएका नीतिगत व्यवस्थालार्इ परिमार्जन गर्दै अघि बढ्नुपर्नेमा जोड दिइन् ।

shares