Breaking News

‘संसदीय समितिको संख्या थपघट हुन सक्ने’

काठमाण्डौ, २८ चैत्र । सभामुख कृष्णबहादुर महराले संसदीय समितिको संख्या थपघट हुन सक्ने बताएका छन् ।

बुधबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सभामुख महराले संसदीय समिति ७ वटा मात्र बनाउने भएपनि संख्या थपघट हुनसक्ने बताएका हुन् । नियमावली मस्यौदामा ७ वटा प्रस्ताव गरिएपनि सबैसँग छलफल गर्दा संख्या बढ्न सक्ने उनको भनाइ छ । यसबारेमा अहिले राष्ट्रियसभा र प्रतिनिधिसभामा छलफल गर्न बाँकी रहेको उनले बताए ।

त्यस्तै सभामुख महराले सदनमा मन्त्री र प्रधानमन्त्रीको जवाफ दिने समय पनि मिलाउने तयारीमा रहेको पनि जानकारी दिए । उनले नियमावलीमा हप्तामा दुईजना मन्त्रीले जवाफ दिने र पन्ध्र दिनमा प्रधानमन्त्रीले जवाफ दिने व्यवस्था गर्न लागिएको बताए । सभामुख महराले आगामी २ वर्षभित्र सिंहरदबारभित्रको पुतली बगैंचामा नयाँ संसद भवन निर्माण गर्ने जानकारी दिंदै बगैंचामा रहेको सेनालाई अर्को स्थान सार्ने बारे छलफल भइरहेको बताए ।

महराले आफू अहिले माओवादी केन्द्रमा नरहेको भन्दै सभामुख भएलगत्तै फागुन २७ गते नै पार्टीबाट राजिनामा दिइसकेको जानकारी समेत दिए ।

shares