इन्डियाभन्दा ठूलो आइडिया

-संकेत कोइराला

राजा महेन्द्र अमेरिकी राष्ट्रपति आइजनहावरको निमन्त्रणामा अमेरिका जाने तयारीमा थिए । राजाकै लगानीमा निस्किने ‘हालखबर’ पत्रिकाले समाचार छाप्यो– ‘राजालाई स्वागत गर्न राष्ट्रपति आइजनहावर विमानस्थल नजाने ।’ त्यसबेला बीपी कोइराला प्रधानमन्त्री र कृष्णप्रसाद भट्टराई सभामुख थिए । बीपीको अनुमति लिएर सभामुख भट्टराईले अमेरिकी दूतावासका कार्यबाहक राजदूत फिक्सलाई हप्काउँदै भने– ‘हाम्रो राजालाई स्वागत नगर्ने ? के सानो देश भनेर हेपेको हो ?’ राजदूतले स्पष्टीकरण दिंदै भनेका थिए– ‘हाम्रो राष्ट्रपति मुटु रोगी हुनुहुन्छ । कुटनीतिक मर्यादाका कारण विमानस्थलदेखि विमानसम्म चिसोबाट बच्न डाक्टरले दिएको टोपी लगाएर जान मिलेन । त्यस्तो चिसोमा टोपी नलाई जानु झन् घातक हुन्छ । फेरि उमेरका दृष्टिले पनि उहाँ बृद्ध हुनुहुन्छ । डाक्टरले जतिबेलै पनि स्ट्रोक हुनसक्ने भविष्यवाणी गरेका छन् । त्यसैले नजाने भनेको हो ।’

अन्तर्राष्ट्रिय मञ्चमा त्यसबेला नेपालको कुटनीतिक मर्यादा र क्षमता यति शक्तिशाली थियो कि त्यस्ता गम्भीर बिरामी आइजनहावर हेलिकोप्टरमा विमानस्थल गएर राजा महेन्द्रको भव्य स्वागत गरेका थिए । घटनाको यही संवेदनशीलतालाई हेरेर अमेरिकी सरकारले तत्काल प्रोटोकल फेरेर अब उप्रान्त विदेशी पाहुनाको स्वागतमा राष्ट्रपति विमानस्थल नजाने बरु पाहुनालाई हेलिकोप्टरमा ह्वाईट हाउस ल्याएर गार्ड अफ अनर दिने प्रचलन सुरु गर्‍यो ।

नेपाली पाहुनाका कारण ६ दशकअघि फेरिएको त्यो चलन डोनाल्ड ट्रम्पसम्म आइपुग्दा पनि कायमै छ । त्यतिमात्र होइन, दोस्रो विश्वयुद्धमा नेपालले गरेको उल्लेखनीय सहयोगप्रति कृतज्ञता जनाउँदै जर्मनी, बेलायतलगायत पूर्वी तथा पश्चिम युरोपका थुप्रै देशले नेपालीलाई यथास्थानमा आगन्तुक भिसा उपलब्ध गराउँथे ।

राजनीतिमा भात जित्ने तर भविष्य हार्ने खेलका कारण हाम्रो कुटनीतिक मर्यादा रसातलमा पुगेको छ । दल र नेताहरूको साख मेची र महाकालीबाट पारी तर्न सकेको छैन । भारतमा नरेन्द्र मोदी नामको वर्षा हुँदा यहाँ अनगिन्ती छाता ओढ्नेहरू निस्कन्छन् । मुख्यमन्त्री हुँदा उनले गुजरातमा गरेको कायापलट कसैका लागि अनुकरणीय हुँदैन । मोदीकी ९० वर्षीया आमाले सार्वजनिक यातायात चढेर मतदान गरेको दृश्यले कसैलाई छुँदैन । चिया पसले मोदी विशाल भारतको कार्यकारी पदमा कसरी पुग्यो ? त्यसको विश्लेषण छैन । ‘अब भारतीय जनताले देशका लागि मर्ने दिन गए’ भन्ने उद्घोष गर्ने मोदीको विकास आन्दोलनमा नेपालले ऊर्जा दिएर सघाउन सक्छ । नेपालले उत्पादन गर्ने जति पनि ऊर्जा अब भारतका लागि कम हुन्छ । बरु हाम्रा नेताहरूले क्रान्तिका बखान छाडेर यसखाले काममा तदारुकता देखाए पुस्तौं पुस्ताका लागि असल कर्म हुने थियो । मोदीसंगको सेल्फी फोटो बैठक कक्ष सजाउने र आफ्ना भजन मण्डलीलाई प्रवचन दिने संकीर्ण विचारमै सीमित हुने हो भने राजनीति नामको पवित्र चीजलाई नजुठ्याएकै जाति हुन्छ ।

हाम्रा देशका ठूला मानिसहरूको अस्तित्व पूर्णिमाको चन्द्रमाजस्तै लाग्छ । यिनीहरू आरिसलाग्दो झलमल्ल त देखिन्छन् तर फगतः एक्लो । प्रधानमन्त्री केपी शर्मा ओली सरकारी खातामा नाम दर्ता भएका हिसाव गर्दा ६० जनाको लावालस्कर लिएर भारत गए । त्यो भ्रमण दलमा को थियो भन्दा को थिएन, जस्तो लाग्थ्यो । दुर्भाग्य, हाम्रा देशका प्रधानमन्त्रीले कुम जोडेर भारतीय समकक्षी मोदीसँग खिचेको फोटो समेत मोदीको ट्वीटबाट पैंचो लिनुपर्ने अवस्था आयो ।

ओली सरकारका विकासे एजेण्डा मोदी कण्ठ गरेर बसेका थिए । भारतीय पक्ष व्यक्ति हार्ने, देश जित्ने रणनीतिमा देखिन्थ्यो । भारतीय प्रधानमन्त्रीको टीम यस्तो थियो– अरु मिलाएर पास दिन्थे, मोदी अचुक निसाना लगाउँथे । हाम्रो टोलीमा समूह मात्र नेपाली नागरिकताधारी थियो तर त्यहाँभित्र खण्डित नेपाल थियो । थुप्रै लेण्डुप दोर्जीहरू दौरासुरुवालको भेषमा छिरेका थिए । जहाज चढेदेखि नै सबैमा सेल्फी मेनिया स्पष्ट झल्कन्थ्यो । सबैका अनुहारमा उही तोरीलाहुरे संस्कृतिको उताउलोपन जात्रा हेर्न हौसिएको बालकजस्तो । लेखिदिएको कागजबाहेक ओलीजस्ता वाक्पटु व्यक्तिका भावनात्मक कुनै धारणा थिएनन् । एक प्रतिशत हिन्दु भारतीयलाई पशुपति ल्याउन सकियो भने एक करोड धार्मिक पर्यटक थपिन्छन् भन्ने नर्सरी पढ्ने बालकले बुझ्ने चेत राजनीतिका घागडान मुखियाहरूसंग थिएन ।

अरुको आँगनमा फस्टाएको हरियो दुबोमा राल काढेरै पुस्तौंपुस्ताको सपना भित्तो लाग्यो । मानिलिउँ नेपालमा पानीजहाज चल्यो रे ! त्यसपछि आउने परिणाम अहिले नै प्रष्ट छ । छातीमा हात राखेर भन्दा नेपाल देश भारतीय र चिनियाँ उत्पादनको सोरुम हो । भारतबाट सामान बोकेर आएका सयवटा कन्टेनर निर्यातजन्य उत्पादन भरेर पठाउने सामर्थ्य राख्दैनौं भने पानीजहाजको उपयोग कसरी गर्न सक्छौं ? हामी दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन कस्सिएका त छौं तर नेपाली झण्डाबाहक जहाज डाइनोसर बन्दै गएको छ । ट्रान्जिट बनाएर विदेशी वायुसेवा कम्पनीलाई लखनउ लुट गराउनकै लागि विमानस्थल किन बनाउनुप¥यो ? कृषक नचिन्ने नीति, आमाबाउ पाल्ने हैन फाल्ने शिक्षा, अपराध फस्टाउने राजनीति, राजश्वमारा व्यापार र घुसमा बिकेको न्यायमा शुद्धिकरण नल्याई समृद्ध नेपालको सपना देख्नु भनेको मृगतृष्णा मात्र हो ।

समय आफैं असल, खराब हुँदैन । समय त सेतो कपडा हो, यसमा कुन रंग मिसाउने त्यो मानिसको स्वविवेकमा निर्भर रहन्छ । एमालेजन केपी ओलीका हरेक चीजमा सौन्दर्य देख्छन् । अंग्रेजी बोलाई, हिँडाई, चलाई मात्र हैन, भारतमा ओलीले पाएको आतिथ्य अद्वितीय ठान्छन् । काँग्रेसीहरू मनमोहनसिंहले तात्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई विमानस्थलमै आएर सुम्सुम्याएको सम्झिएर अर्को आत्मरतिमा रमाउँदा हुन् । नेपालमा गएको भूइँचालोको खबर सुशील कोइरालालाई दिने सूचक मोदी नै थिए । प्रश्न फूल, सलामी, मलामी, मिष्टान्नको होइन । चुरो विषय पद्दतिको हो । हाम्रो इमान्दारीताको हो ।

काठमाडौंमा मेलम्ची गाथा गाएको चार दशक हुनलाग्यो । शिक्षा र स्वास्थ्य कालो व्यापार र दलालीका अब्बल व्यवसाय बनेका छन् । धुवाँ धुलो प्रदूषणले नेपालीको स्वास्थ्य दिन प्रतिदिन धराप छ । घुस कति नैतिक कर्मभित्र पर्छ भने राजश्व बुझाउँदा पनि दलालको सहारा लिनुपर्छ । तारे होटलमा एक कपको चिया तीनसय पर्छ तर किसानले मेहनत गरेर मकै फलायो भने उसको हातमा एक रुपियाँ पर्छ । सार्वजनिक यातायातका उपभोक्ताको अवस्था र ममः पकाउन ट्रकमा ल्याइएका भैंसीले पाउने सुविधा उस्तै छ । ट्याक्सी सेवा एम्बुलेन्सभन्दा महँगो छ । न्याय अन्यायभित्रबाट निसृत हुन सकेकै छैन । के यी समस्या भारतबाट सृजित हुन ? सुधारको छिनो यता चलाउनु पर्दैन ? प्रधानमन्त्रीको पदेन प्रमुखको हिसाव लगाउने हो भने ६० भन्दा बढी ठाउँमा ओगटिएको छ । ती ठाउँको गुणस्तर वृद्धिमा प्रधानमन्त्री पद कति साधक, कति बाधक भयो भन्ने समीक्षा छैन । बरु चारजना ढोके, हुक्केहरूले सन्काएका भरमा प्रकृति नमिल्ने ठाउँको सारथी प्रधानमन्त्रीलाई बनाइन्छ । अपराधको चंगुलबाट राजनीतिलाई निकालेका दिन सबै समाधानको बिन्दु भेटिन्छ । तर त्यो यात्रामा जुट्ने जाँगर कसैलाई छैन ।

महाभारत समाप्त भएपछि बाणको सैय्यामा सुतेका भीष्म पितामह मृत्युको अन्तिम घडीमा थिए । पाण्डवहरू उनको नीति र अनीतिको अन्तिम उपदेश सुन्न पुगेका थिए । उपदेश सुन्दासुन्दै द्रौपदी अट्टहास गरेर हाँसिन् । भीष्म पितामहले सोधे– ‘छोरी तिमी किन हाँसेकी ? द्रौपदीले निर्भिकतापूर्वक भनिन्– ‘क्षमा गर्नुस्, पितामह । आज तपाईं नीति र अनीतिको कुरा सिकाउँदै हुनुहुन्छ । तर जब सभामा दुष्ट दुशासन मेरो चीरहरण गरिरहेको थियो, त्यतिबेला शान्त मुद्रामा जड भएर तपाईं यी दृश्य हेरिरहनुभएको थियो । त्यतिबेला नीति र अनीतिको विवेक कता गएको थियो ? यही सम्झेर मलाई हाँसो लाग्यो ।’

भीष्म पितामहको स्वीकारोक्ति थियो– ‘तिम्रो कथन सर्वथा सत्य हो, पुत्री । तर त्यतिबेला म दुर्योधनको अधिनमा थिएँ । उसको अन्नले मेरो प्राण धानिएको थियो । तर आज अर्जुनको बाणले मेरो शरीरबाट सम्पूर्ण विषाक्त रगत निकाल्दिएको छ । जुन दूषित अन्नबाट बनेको थियो । त्यसैले म अब निश्चल र निर्मल भएर उचित, अनुचित, नीति, अनीति खुट्याउन सक्छु ।’ के हाम्रा नेताहरू शुद्धिकरणको यो अग्निपरीक्षासम्म पुग्न सक्छन् ? समाजले खोजेको परिवर्तन यस्तो हो । जसले मानिसलाई इज्जत र अवसर दुवै देओस् ।

ब्रिटिसले फौजी आक्रमण गरेर फकल्याण्ड टापू लिँदा अर्जेन्टिनीहरूले दागा धर्दै भनेका थिए– ‘यसको बद्ला हामी फुटबलको मैदानमा लिन्छौं ।’ यो प्रतिशोध कतिसम्म ज्यूँदो र आक्रामक थियो भने भर्खर जन्मिएको शिशु सुताइएको कोक्रोमाथि पनि फुटबल झुण्ड्याइन्थ्यो । जसका कारण बच्चाको चेतनाले पहिलो पटक ठम्याउने वस्तु भनेकै फुटबल हुन्थ्यो । यसरी सधैं बाघले बाख्रा मात्र खाएर सक्दैन । बाघचाल खेलमा बाख्राले बाघलाई घेरेर पनि खेल जित्छ । तर वाकओभर हाम्रो नियति बन्यो । पात तबसम्म सुरक्षित हुन्छ, जब ऊ रूखसंग जोडिएको हुन्छ । चट्टानको सामर्थ्य पहाडसँग जोडिएका बखत सुरक्षित हुन्छ । मान्छे परिवारसँग अलग हुँदा स्वतन्त्र त होला तर संस्कार नामको कवच गुमाउँछ । मसानघाटमा कतै लेखिएको थियो– ‘कसैलाई के आरोप लगाउनु साथी जिन्दगीमा सताउने र जलाउने पनि आफ्नै थिए ।’

भगवान बुद्धका मूर्ति त धेरै स्थापना भए, तर बुद्धत्व ग्रहण गर्नेहरू थोरै भेटिए । देवताको पूजा गर्न मन्दिरमा थुप्रै भीड लाग्यो, देवत्वको मर्म आत्मसात् गर्ने झन् न्यून भए । जनयुद्ध जीवनको गम्भीर भूल थियो भन्न मात्र बाँकी राखेका माओवादी नेताहरूले ठूलो हैन असल बन्ने कोशिस गरे जाति हुन्थ्यो । कांग्रेस, एमाले र माओवादी आफूहरूलाई सृष्टिकर्ता र पालनकर्ता सम्झिने भ्रमबाट मुक्त भइदिए हुन्थ्यो । बसुधैव कुटुम्बकमको मूल मर्म पनि यही हो ।

र्इमेल: sanketkoirala07@gmail.com

यो पनि पढ्नुहोस्-

पानी पकाएर बाक्लो, मान्छे फकाएर आफ्नो हुन्न

ढोंगीभन्दा जोगी बन्नु जाति