शिक्षा क्षेत्रको नीतिगत र कानुनी आधार निर्माणसहितको १० बुँदे मार्गचित्र सार्वजनिक

काठमाण्डौ, २८ चैत्र । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा क्षेत्रको नीतिगत र कानुनी आधार निर्माणसहितको १० बुँदे मार्गचित्र सार्वजनिक गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै शिक्षा क्षेत्रको संरचनात्मक तथा सांगठनिक सुधार, प्रारम्भिक बालशिक्षा, सार्वजनिक शिक्षाको गुणस्तरियता, निजी शिक्षाको नियमनलगायतका मार्गचित्र सार्वजनिक गरेका हुन् । मार्गचित्रमा संविधानमा उल्लेखित शिक्षाको अधिकारको प्रत्याभूती दिलाउने, उच्च शिक्षालाई अनुसन्धानत्मक बनाउने, हरेक प्रदेशमा आवासीय मातृभाषी विद्यालय स्थापना गर्ने उल्लेख छ ।

त्यस्तै शिक्षालाई गुणस्तरीय बनाउन शिक्षकको दरबन्दी बढाउने, सबै विद्यालयमा इन्टरनेट विस्तार गर्न पहल गर्ने, समयमै शिक्षकको हातमा पाठ्यक्रम र विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध गराउने, प्राविधीक शिक्षालाई रोजगारीसंग प्रत्यक्ष जोडिने लगायएतका विषय पनि मार्गचित्रमा उल्लेख छ ।

पुरानो शिक्षा प्रणालीलार्इ खारेज गरी नयाँ शिक्षा प्रणाली ल्याईने, संघीय स्वरूपमा शिक्षा क्षेत्रको विकास गरिने, पाठ्यक्रम प्रारुप १ महिनाभित्र परिमार्जन गरिने, सक्षम दक्ष जनशक्ति उत्पादनलाई शिक्षासंग जोड्ने लगायतका विषयमा पनि मार्गचित्रमा रहेको मन्त्री पोखरेलले जानकारी दिए ।

मन्त्री पोखरेलले आगामी वैशाख २ गतेबाट विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरण अभियान सन्चालनमा मन्त्रालय जुटिसकेको बताए । उनले आगामी केही दिनभित्रै प्रदेशमा दक्ष जनशक्ति पठाउने र विद्यालयमा आवश्यक पूर्वाधारको व्यवस्था गरिने जानकारी पनि दिए । पत्रकार सम्मेलनमा उनले आफ्नो सम्पत्ति विवरण पनि सार्वजनिक गरे ।