प्रारम्भिक बालविकाससम्बन्धी अन्तराष्ट्रिय सम्मेलन काठमाण्डौमा हुने

काठमाण्डौ, २८ चैत्र । प्रारम्भिक बालविकासका लागि एसिया प्रशान्त क्षेत्रीय सञ्जालको सम्मेलन २०१८ र प्रारम्भिक बाल स्याहार तथा शिक्षाका लागि तेश्रो एसिया प्रशान्त क्षेत्रीय नीति मञ्चको संयुक्त बैठक नेपालमा आयोजना हुने भएको छ ।

शिक्षा , विज्ञान तथा प्रविधी मन्त्रालयले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त संयुक्त बैठक आगामी जेष्ठ २२ देखि २४ गते सम्म काठमाडौंमा हुने जानकारी दिएको हो ।

सम्मेलनमा अन्तराष्ट्रिय स्तरमा भएका प्रारम्भिक बालविकासमा नयाँ अनुसन्धान र प्रयोगबारे ज्ञान आदान प्रदान गर्ने , प्रारम्भिक बालविकासका विषयमा विद्यमान नीतिहरूबारे छलफल हुने र प्रारम्भिक बालबालिकाका सरोकारवालाहरूबीच छलफल गरिने मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा पोषण, उत्तरदायी हेरचाह, प्रारम्भिक सिकाई, सुरक्षा लगायतका विषयमाथि सम्मेलनमा छलफल हुने शिक्षा सचिव खगराज बरालले जानकारी दिए । उनले दिगो विकास लक्ष्यका लागि प्रारम्भिक बाल स्याहार तथा शिक्षा क्षेत्र सम्मेलनको मुख्य विषयवस्तु रहेको बताए ।

सम्मेलनमा ४० देशबाट ५ सय विदेशी र २ सय स्वदेशी गरी जम्मा सात सय सहभागी हुने मन्त्रालयले जनाएको छ । सम्मेलनलाई सफल बनाउन शिक्षा मन्त्रीको संयोजकत्वमा मूल आयोजक समिति पनि गठन गरिएको छ ।