स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको चौथो शिखर सम्मेलन सुरु

काठमाण्डौ, २८ चैत्र । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको चौथो शिखर सम्मेलन बुधबारदेखि काठमाडौंमा सुरु भएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा सुरु दुई दिने सम्मेलनको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले उद्घाटन गरिन् । सम्मेलनमा देशभरबाट १ हजार स्वास्थ्य बैज्ञानिकहरूको सहभागिता रहेको छ । बदलिदो स्वास्थ्य प्रणालीको लागि उच्चस्तरीय अनुसन्धान भन्ने नारा दिइएको यसपटकको सम्मेलनमा स्वदेशी वैज्ञानिकहरूको मात्रै सहभागिता रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा मन्त्री अर्यालले मुलुक संघीय संरचनामा प्रवेश गरेको भन्दै स्थास्थ्य क्षेत्र पनि संघीय ढाँचामा रुपान्तरणको प्रक्रियामा रहेको बताइन् । स्वास्थ्य कार्यक्रमको योजना तर्जुमा अनुसन्धानबाट प्राप्त प्रतिवेदनको आधारमा गरे त्यसको प्रभावकारीता बढ्ने र लागत पनि कम हुने उनको भनाइ छ । उनले अनुसन्धानलाई प्रादेशिक क्षेत्रमा पनि विस्तार गर्ने र हाल सञ्चालित स्वास्थ्य कार्यक्रमको प्रभावकारिता अध्ययन गर्दै प्रभावहीन कार्यक्रम स्थगन गरिने जानकारी दिइन् ।

त्यस्तै परिषद्का कार्यकारी अध्यक्ष डाक्टर अञ्जनीकुमार झाले यसपटकको सम्मेलनमा खोज तथा अनुसन्धानका बारेमा ६५ वटा मौखिक प्रस्तुति र ६७ वटा पोष्टर प्रस्तुति रहने बताए । उनले संविधानमै उल्लेख गरिएको स्वास्थ्य अधिकारलाई प्रभावकारी रूपमा अघि बढाउन अध्ययन र अनुसन्धान जरुरी रहेको धारणा राखे ।

सम्मेलनमा आमन्त्रित विज्ञहरूबाट संघीयतामा स्वास्थ्य अनुसन्धान, नेपालमा सञ्चालन भइरहेका स्वास्थ्य अनुसन्धान सम्बन्धी गतिविधिका बारेमा जानकारी, नसर्ने रोग र गरिबीको बारेमा ८ वटा कार्यपत्र प्रस्तुत हुने बताइएको छ । कार्यक्रमको समापनका दिन ७ जना उत्कृष्ठ अनुसन्धानकर्ताहरूलाई पुरस्कृत गरिनेसमेत आयोजकले जनाएको छ ।