Breaking News

जिल्लास्तरका २ दर्जन सरकारी कार्यालय खारेज, जिशिका भने असारसम्म रहने

काठमाण्डौ, २८ चैत्र । जिल्लास्तरमा रहेका करिब दुई दर्जन सरकारी कार्यालयहरू आजबाट खारेज भएका छन् । उक्त सरकारी कार्यालयहरूका चलअचल सबै सम्पत्ति स्थानीय तह मातहतमा अाउने गरी खारेजी गरिएको हो ।

खारेजीमा परेका कार्यालयहरूको चलअचल सबै सम्पत्ति जिल्ला समन्वय समिति (जिसस) प्रमुखको संयोजकत्वमा गठित समितिमार्फत हस्तान्तरण हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता रुद्रसिंह तामाङले जानकारी गराए । केही हस्तान्तरण भइसकेको र केही अन्तिम चरणमा रहेको तामाङले बताए ।

कृषि, डिभिजन सहकारी, खानेपानी, वन, सिंचाइ, भूसंरक्षण, जनस्वास्थ्य, महिला विकास लगायतका कार्यालयहरू खारेजीमा परेका  सरकारी कार्यालयहरू हुन् । यसैगरी सेवाग्राहीको अत्यधिक चाप हुने मालपोत, नापी, भूमिसुधार कार्यालय पनि खारेज गरिएका छन् ।

जिल्ला शिक्षा कार्यालय भने आगामी असारसम्म कायमै रहने तामाङले बताए । खारेजीमा परेका कार्यालयहरूले प्रदान गर्दै अाएको सेवा स्थानीय तहले प्रदान गर्नेछ ।

खारेजीमा परेका कार्यालयहरूको चलअचल सम्पत्ति र दायित्व हस्तान्तरण गर्न ७७ वटै जिल्लामा जिससको संयोजकत्वमा विषयगत कार्यालयका प्रमुख, कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख, जिल्ला प्रशासन कार्यालयका अधिकृत र जिल्ला समन्वय अधिकारी रहने गरी समिति बनाइएको छ ।

shares