Breaking News

चैत्र ३० गतेदेखि काठमाडौंमा २१ औं फ्लोरा एक्स्पो हुने

काठमाण्डौ, २७ चैत्र । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ चैत्र ३० गतेदेखि काठमाडौंमा २१ औं फ्लोरा एक्स्पो हुने भएको छ ।

आयोजक फ्लोरिकल्चर एसोसियशन नेपालले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत्र ३० गतेदेखि बैंशाख ३ गतेसम्म भृकुटीमण्डपमा एक्स्पो सञ्चालन गर्न लागिएको जनाएको हो । प्रतियोगात्मक , व्यवसायीक र फूडस्टल गरि एक्स्पोमा ८२ वटा फूल तथा फूलजन्य सामाग्रीको स्टल रहने एसोसियशनले जानकारी दिएको छ । एक्स्पोमा मौसमी फूल, आलंकारिक बोटविरुवा, कट फ्लावर, सुनाखरी, थोपा सिँचाइ प्रविधिलगायतका स्टल रहनेछ ।

यस्तै त्यही अवसरमा पुष्प व्यवसायीबीच विभिन्न १० वटा विधामा प्रतिस्पर्धा समेत हुने मेला संयोजक रामजी प्रसाद तिमिल्सिनाले जानकारी दिए । पुष्प व्यवसायको बजार प्रबर्द्धनका लागि गर्न लागिएको एक्स्पोको ६० हजारभन्दा बढीले अवलोकन गर्ने र ६५ लाख बराबरको कारोबार हुने अनुमान रहेको तिमिल्सिनाले बताए ।

नेपालमा अहिले विभिन्न ४१ जिल्लामा १ सय ५३ हेक्टर क्षेत्रफलमा व्यवसायिक फूल खेती भइरहेको छ । गत वर्ष नेपालमा १ अर्ब ७१ करोड रूपैयाँ बराबरको फूलको कारोबार भएको थियो । त्यसमध्ये १० करोड बराबरका फूल र फूलजन्य वस्तु भारत लगायतका मुलुकबाट आयात भएको थियो ।

shares