जलवायु परिवर्तन सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन काठमाण्डौमा सुरु

काठमाण्डौ, २७ चैत्र । खानेपानी, वातावरण तथा जलवायु परिवर्तन सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन मंगलबारदेखि काठमाण्डौमा सुरु भएको छ ।

सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनियर्स (सोफेन ), खानेपानी तथा ढल निकास विभाग र नेपाल इन्जिनियर्स एसोसियसनले संयुक्त रूपमा आयोजना गरिएको सम्मेलनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे । ‘पानी, वातावरण तथा जलवायु परिवर्तन: ज्ञानको आदान प्रदान र साझेदारी’ नाराका साथ सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सम्मेलनले मुलुकलाई दिगो तवरबाट अघि बढाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे । उनले विनासकारी भूकम्पले पुर्याएको क्षतिको पुनर्निर्माणमा ढिलाइ भइरहको भन्दै यसले समग्र विकासमा नै असर परिरहेको उल्लेख गरे ।

उपराष्ट्रपति पुनले नेपालले विश्वसामू सम्झौता गरेको जलवायु परिवर्तन र दिगो विकास लक्ष्यका लागि खानेपानी, वातावरण महत्वपूर्ण क्षेत्र रहेको बताए । उनले पानीको बढ्दो माग र जलवायु परिवर्तनको सन्तुलन मिलाउन नयाँ पद्धतिबाट पानीको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

जनसंख्या वृद्धि र जलवायु परिवर्तनका कारण पानीको स्रोत र वातावरणमा परेका खराब असरले मानव जीवनले कठिन चुनौतीहरूको सामना गर्नु परिरहेको र यस मुद्धामा नेपालले लामो समयदेखि आवाज उठाउँदै आएकोले सम्मेलन यस विषयमा केन्द्रित हुने नेपाल इन्जिनियर्स एसोसियसनका अध्यक्ष हरेराम श्रेष्ठले जानकारी दिए । तीन दिनसम्म चल्ने सम्मेलनले काठमाडौ घोषणा पत्र जारी गर्ने आयोजकको भनाइ छ ।