आजदेखि बिस्केट जात्रा सुरु : संभावित झडप रोक्न दिउँसै रथ तानिने

भक्तपुर, २७ चैत्र । सांस्कृतिक एवं ऐतिहासिक महत्वको बिस्का (बिस्केट) जात्रा मंगलबारदेखि सुरु हुँदैछ ।

नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्रा आज साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै सुरुआत गरिन्छ ।

काठैकाठले प्यागोडा(छाने) शैलीमा निर्मित तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ । रथ तान्नुअघि भैरवनाथको रथमा खड्ग, तरबार र निशान राखिन्छ ।

बिस्केट जात्राको पहिलो दिन तौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणबाट भैरवनाथ र भद्रकालीको रथ क्वने र थनेका बासिन्दाले रथको अगाडि र पछाडिबाट तानातान गरेर आआफ्नो टोलतर्फ लैजाने परपम्परा छ ।

जात्राको मुख्य आकर्षण रथ तानातान गर्ने क्रममा थनेतर्फ पहिला तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढी हुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याई त्यहाँबाट फर्काएर गःहिटीमा रथ पुर्‍याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुन्छ ।

त्यसैगरी पहिले क्वनेतर्फ तानेर लानसके टेखापुखुसम्म ल्याइने र त्यहाँबाट पुनः टौमढी हुँदै दत्तात्रय पुर्‍याएर त्यहाँबाट फर्काई गःहिटीमा रथ पुर्‍याउनुपर्ने परम्परा छ । जात्रामा रथ तान्ने परम्परागत मार्ग क्वनेतर्फ टौमढी, बुलुँचा, घट्खा, नासमना, मुलाखु, वंशगोपाल र तेखापुखुसम्म तथा थनेतर्फ क्वाछें, साकोठा, सुकुलढोका, गोल्मढी, इनाचो र दत्तात्रयसम्म छ ।

विसं २०७२ को भूकम्पले रथ तान्ने मार्गका घरमा क्षति पुर्‍याएको र ती संरचना पुनःनिर्माणका चरणमा रहेकाले यस वर्ष टौमढीबाट क्वनेतर्फ बुलुँचा र थनेतर्फ साकोठासम्म मात्र रथ तान्ने तयारी भएको प्रजिअ द्रोण पोखरेलले जानकारी दिए ।

तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बलि चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलिपूजाको मासु प्रसादका रुपमा लाकुलाछेवासीलाई बाँडिन्छ, जसलाई नेपाल भाषामा ‘स्याक्वः त्याक्वः’ भनिन्छ । भक्तपुर टौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलो पटक जात्रालाई सम्बोधन गर्दा ‘विश्वजात्रा’ भनी उल्लेख गरिएको छ ।

जात्राको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसीं (हात नभएको लिङ्गो) उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ५५ हात लामो लिङ्गो भेलुखेलस्थित ल्योसिङ खेलमा उभ्याइन्छ ।

पुरानो वर्ष बिदाइ र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ । लिङ्गोको कोखामा झुण्ड्याइएका दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एकजोडी ध्वजा फुकाएपछि एउटा संवत्सर फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने मान्यता छ ।

लिङ्गो उभ्याउन बाँधिएका आठ डोरीलाई अष्टमात्रिकाको प्रतीक मानिन्छ । लिङ्गो उभ्याउने क्रममा नवदुर्गा देवगण उपस्थित हुन्छ । लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन छ ।

लिङ्गो उठाएको हेर्नाले शत्रु नाश हुन्छन् भन्ने मान्यतानुसार यसलाई ‘शत्रुहन्ता जात्रा’ पनि भनिन्छ । यस दिन भैरवनाथ र भद्रकालीको रथ पनि लिङ्गो उभ्याउने स्थानमा पुर्‍याइन्छ । लिङ्गो उठाइनासाथ स्थानीय बाराहीदेवीको तिंप्वाः जात्रा मनाइन्छ ।

जात्राको पाँचौं दिन वैशाख १ गते लिङ्गो ढालिन्छ । त्यसलगत्तै खँला टोलमा भैरवनाथ र भद्रकालीको रथलाई एकापसमा जुधाइने परम्परा छ जसलाई नेपाल भाषामा ‘द्यः ल्वाकिगु जात्रा’ भनिन्छ । साँझपख दुमाजुदेवीको जात्रा गरिन्छ । अन्तिम दिन भैरवनाथको रथ गःहिटीबाट पहिलो दिनमा जस्तो थने र क्वने टोलका बासिन्दाबाट तानातान गरिन्छ ।

थिमीमा प्राप्त नेसं ५०० को तमसुकपत्रमा विश्वकेतुलाई सम्झाउने पर्यायका रुपमा ‘बिसिक’ शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् । भक्तपुर टौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलो पटक जात्रालाई सम्बोधन गर्दा ‘विश्वजात्रा’ भनी उल्लेख गरिएको छ ।

त्यसैगरी भक्तपुरको राजदरबारमा नेसं ८०८ र ८१८ को राजा जीतामित्र र भूपतीन्द्र मल्लका पालामा लिखित अभिलेखमा ‘बिस्क्यात’ शब्द उल्लेख छ । “तलेजुमा अहिलेसम्म चल्ने बिस्का जात्राको संकल्प पूजामा विश्वजात्रा महापर्व भनेर सम्बोधन गरिन्छ”, उनी भन्छन्, “यी प्रमाणका आधारमा ‘विश्वकेतु’ भनेको संस्कृत शब्द हो । पछिल्लो कालखण्डमा नेवारी नामकरणअनुसार ‘बिसिक’, ‘बिस्क’, ‘बिस्का’ हुन पुगेको हो । त्यसैको अपभ्रंश भएर ‘बिस्केट’ हुन पुगेको हो । नेवारीमा अहिले पनि बिस्का जात्रा भन्ने गरिन्छ ।”

प्रा. डा. श्रेष्ठले बिस्का जात्रा भैरवनाथ र भद्रकालीसँग मात्र सम्बन्धित रहेको र यसमा प्रचलित सर्प मारिएको र नागनागिनीसँग जोडिएको किंवदन्ती भ्रम मात्र रहेको बताए ।

‘यो जात्रा विश्वनाथ भैरवको मात्र नभई उनकै शक्ति भद्रकालीको पनि हो । विश्व भैरवनाथको प्रतीक लिङ्गोमा फहराइने एकजोडी हलिपत(ध्वजा) साक्षात् भैरव र भद्रकालीको हो । यसलाई जबर्जस्ती बिको अर्थ सर्प र स्यातको अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केट चल्दै आएको भम्र छ’, उनले भने, ‘नवदुर्गा गणलाई ‘वि त्वंकेगु’ भनी तान्त्रिक विधिपूर्वक पुरानो रगत खुवाउने प्रचलन अहिलेसम्म छ । अहिलेसम्म चलेका प्रमाण, अभिलेख र मल्लकालीन राजा जगत्प्रकाशदेखि शाहवंशीय राजा त्रिभुवन र ज्ञानेन्द्र तथा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले फेरेका हलिपत हेर्ने हो भने विश्वकेतु, वीरध्वजा लेखिएको छ । विश्वनाथको ध्वजा विश्वध्वजा हो । वीर भनेर भैरवको बाहन वीर बेताललाई भनिएको हो । यो ध्वजा विश्वध्वजा र वीरध्वजा मान्न सकिन्छ । यसमा नागनागिनी भन्नु गलत हो ।’

दिउँसै रथ तानिने

बिस्केट जात्रामा पहिलो र अन्तिम दिन रथ तान्ने र लिङ्गो उठाइने बेलामा हुने सम्भावित झडप रोक्न यस वर्ष दिउँसो नै भैरवको रथ तान्ने तयारी भएको प्रजिअ पोखरेलले बताए । यस वर्ष जात्रामा नेपाल प्रहरीका पाँच सय र सशस्त्र प्रहरीका तीन सय जनशक्ति परिचालन गरिने छ ।

जात्रामा उच्छृङ्खल गतिविधि गर्नेको पहिचान गर्न सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरिनेछ । रथमा अनियन्त्रित तरिकाले अत्यधिक मानिस चढ्ने गर्दा रथबाट खसेर घाइते हुनाका साथै किचेर ज्यानसमेत जाने गरेकाले रथमा भैरव नाइके, गुथी र स्थानीय क्लबका पदाधिकारी मात्र चढ्ने व्यवस्था गरिनेछ ।

जात्रामा हुलदंगा गर्नेको पहिचानका लागि चोकचोकमा सिसी क्यामेरा जडान गरिने छ । सुरक्षा व्यवस्थामा खलल पुर्‍याउनेलाई पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही गरिने उनले बताए । ‍-रासस