मन्त्रिपरिषद् बैठकले गर्‍यो दुई निर्णय, प्रहरी महानिरीक्षकको नियुक्तिका लागि अर्को बैठक बस्ने

काठमाण्डौ, २७ चैत्र । प्रधानमन्त्री निवास बालुवाटारमा अाज बसेको मन्त्रिपरिषद् बैठकले दुई निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयका सचिव राजिव गौतमलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरेको गरेको छ । डिल्लीराज घिमिरेलाई सचिवमा बढुवा गरेर प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

त्यस्तै, सरकारले विद्यालय भर्ना अभियानलाई सफल बनाउनका लागि सबैलाई विद्यालय जाने उमेर पुगेका बालबालिकालाई विद्यालय भर्ना गराउन आह्वान गर्ने निर्णय गरेको छ । सरकारले मन्त्री, सांसद, प्रदेशसभा सदस्य, राजनीतिक दलका नेता, सरकारी अधिकारी, उद्योगी, कलाकार, शिक्षक संगठन, गैह्र सरकारी संस्था सबैलाई विद्यालय भर्ना अभियानलाई सफल बनाउन एक-एक बालबालिकालाई विद्यालय भर्ना गरिदिन आह्वान गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्तिका लागि आजै मन्त्रिपरिषदको दोस्रो बैठक बस्ने भएको छ । नेपाल प्रहरीको महानिरीक्षक प्रकाश अर्यालको यही चैत्र २८ गते अनिवार्य अनिवार्य अवकाश हुँदैछ । महानिरीक्षक बन्ने लाइनमा तीन डिआइजीहरू सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की रहेका छन् ।

मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजनाको उपाध्यक्ष पनि नियुक्त गर्ने भनिएको थियो । योजना आयोगको उपाध्यक्षका लागि डा.पुष्प कडेलको नाम अघि सारिएको छ । उनी एमाले केन्द्रीय लेखा परीक्षण आयोगका अध्यक्ष हुन् ।