अब तस्करहरूको समय सकियो: प्रधानमन्त्री

काठमाण्डौ, २६ चैत्र । प्रधानमन्त्री केपी ओलीले अब तस्करहरूको समय सकिएको टिप्पणी गरेका छन् ।

यसअघि मुलुकको राजस्वलाई नै प्रभावित पार्ने गरी ठूलो परिमाणमा सुन तस्करी भएको भन्दै अब तस्करहरूलाई सरकारले नछा्ड्ने बताए । नेपाल सुनचाँदी व्यवसायी महासंघको पाँचौ वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कानूनसम्वद्ध रूपमा व्यवसाय गर्न आग्रह गर्दै व्यवसायीको सुरक्षाको ग्यारेन्टी सरकारले लिने धारणा राखे ।

प्रधानमन्त्री ओलीले मुलुकको सुशासन, विकास र समृद्धिका लागि सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको बताए । अहिलेको सरकार रोगजारी सिर्जना, उत्पादनको वृद्धि र जनताको आयस्तर बढाउन अघि बढेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले मुलुक कुनै पनि बहानामा पछि पर्न नहुने भन्दै विकासको आधार तय गरिएको बताए । आफूले जनतासंग वाचा गरिएका विकासका योजना दीर्घकालीन भएको उनले सुनाए । उनले कानुनी प्रक्रियाबाट सुन व्यवसायीहरूलाई सरकारका तर्फबाट दिने सुविधामा कुनै कञ्जुस्याँइ नगर्ने पनि बताए ।