भोलिबाट बिस्केट जात्रा सुरु, सम्पूर्ण तयारी सकियो

भक्तपुर, २६ चैत्र । नववर्षको आगमनसँगै सुरु हुने भक्तपुरको प्रसिद्ध साँस्कृतिक एवं ऐतिहासिक महत्वको बिस्केट जात्राको तयारी पूरा भएको छ । नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा भोलिबाट अौपचारिक रूपमा सुरु हुनेछ ।

विशेष गरी नेवारी समुदायको प्रमुख पर्वको रूपमा रहेको यो जात्रा काठमाडौं उपत्यकाको विभिन्न जात्राहरूभन्दा फरक खालको महत्व राख्ने रहेको छ । जात्राको सम्पूर्ण तयारी पूरा भएको गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए ।

जात्रालाई शान्तिपूर्ण बनाउन ३४ स्थानमा सिसी क्यामरा जडान गरेर निगरानी गरिनेछ भने जात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सिभिल प्रहरी गरी एक हजार ३ सय भन्दा बढी सुरक्षाकर्मी खटाइनेछ । खानेपानी एवं सरसफाइको पूर्ण व्यवस्था गरिएको छ ।

नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँचदिन पछिसम्म सञ्चालन हुने बिस्केट जात्रा भक्तपुरका बासिन्दाले आठरात नौ दिनसम्म धुमधामका साथ मनाउने गर्छन् । बिस्केट जात्राको पहिलो दिन भोलि चैत २७ गते भैरवनाथ र भद्रकालीको रथ तान्ने काम हुन्छ ।

तल्लो टोल र माथिल्लो टोलका बासिन्दाले रथलाई आ–आफ्नो टोलमा लैजाँदा ढुङ्गा हानाहान भई अप्रिय घटनासमेत घट्ने गरेको छ । कुनै अप्रिय घटना नदिन यसवर्ष बाक्लो सुरक्षाकर्मीको उपस्थिति रहने र सिसी क्यामेरा जडान गरी निगरानी बढाइने भएको छ । जात्रामा मदिरा बिक्री वितरणमा रोक लगाइने र झगडा गर्नेलाई सार्वजनिक मुद्दा लगाएर कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए ।

जात्रालाई शान्तिपूर्ण रूपमा मनाउने सन्देश प्रवाह गर्न आज बिहान विशाल सद्भाव एवं शान्ति ¥याली प्रदर्शन निकालिएको छ ।