जालसाँजी गरी नगरपालिकाको केन्द्र सारेको भन्दै विरोध

काठमाण्डौ, २६ चैत्र । डोल्पाको ठूलीभेरी नगरपालिकाका केही पदाधिकारीहरूले जालसाँजी गरी केन्द्र सारेको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असन्तुष्ट पदाधिकारीहरूले नगरपालिकाकै केही व्यक्तिहरूको जालसाँजीले केन्द्र सारिएको आरोप लगाएका हुन् । यसअघि नगरपालिकाले दुनैबाट केन्द्र जुफाल सार्ने निर्णय गरेको थियो ।

नगरपालिकाका उपप्रमुख योगेन्द्रबहादुर शाहीले नगरपालिकाको प्रथम बैठकमा निर्णय नभएका विधेयकहरू निर्णय पुस्तिकामा नलेखिएको, र प्रस्तावमै नआएको र छलफल नै नभएको केन्द्र जुफाल सार्ने निर्णय गलत र जालसाजी गरेर गराइएको आरोप लगाए ।

डोल्पाजस्तो अति दुर्गम र पिछडिएको जिल्लामा पनि नगरपालिकाको संरचना तयार भई जिल्लाको सदरमुकाम दुनैलाई केन्द्रविन्दु बनाएर ठूलीभेरी नगरपालिका गठन भएको र पछि भौतिक पुर्वाधार पूरा गरेको नगरलाई केन्द्र बनाइएको उनको आरोप छ ।

निर्वाचन भएको मितिले ६ महिनाभित्र केन्द्र हेरफेरको सिफारिस नेपाल सरकारमा पेश गरिसक्नुपर्ने वाध्यकारी व्यवस्थालाई उल्लघंन गरी ८ महिनापछि मात्रै सिफारिस गरिएको असन्तुष्टको भनाइ छ ।