Breaking News

काठमाडौँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषित

काठमाण्डौ, २६ चैत्र । जिल्ला भित्र रहेका सम्पूर्ण बालबालिकाहरूले खोप पाएको भन्दै काठमाडौँलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।

घोषणासंगै काठमाडौँ ४१ औँ पूर्ण खोप सुनिश्चित भएको जिल्ला भएको छ । काठमाडौंका टुँडिखेलमा सोमबार आयोजित विशेष कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले जिल्ला खोप समन्वय समितिका अध्यक्ष शिवसुन्दरराज वैद्यलाई खोप सुनिश्चिताको प्रमाणपत्र प्रदान गरेका थिए ।

त्यसअघि जिल्ला खोप समन्वय समितिका सदस्यसचिव महेन्द्रप्रसाद श्रेष्ठले खोप सुनिश्चिताका लागि अध्यक्ष वैद्य समक्ष प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावलाई स्वीकार्दै अध्यक्ष वैद्यले पूर्ण खोप सुनिश्चितताका लागि प्रतिबद्धता जाहेर गराएका थिए ।

१० वटा नगरपालिका र एक महानगर भएको काठमाडौँ जिल्लामा २३ महिना मुनिका करीब ४४ हजार बालबालिका रहेको अनुमान छ । कार्यक्रममा उपराष्ट्रपति पुनले खोप स्वस्थ नागरिक उत्पादन गर्न पहिलो औजार रहेको बताए । उनले रोग नलाग्न, अपांग हुनबाट जोगिन खोप आवश्यक रहेको भन्दै काठमाडौँको प्रतिबद्धताको सह्राना गरे । उनले सरकारी अस्पतालको सेवालाई सहज र सुलभका साथै गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै स्वास्थ्य राज्यमन्त्री पद्मा कुमारी अर्यालले सन् २०१७ को प्रतिबद्धता अहिलेसम्म पूरा हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । कार्यक्रममा विभिन्न नगरपालिका तथा संघसंस्थाहरूले झाँकीसहितका प्रस्तुतिहरू समेत दिएका थिए । पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा अघि विभिन्न स्थानबाट र्याली निकालिएको थियो ।

shares