त्रिवि उपकुलपति कप अन्तर कलेज भलिबल सुरु: शिक्षा र सरस्वती क्याम्पस विजयी

 

भानुभक्त बिष्ट/काठमाण्डौ, २६ चैत्र । त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तर क्याम्पस भलिबल प्रतियोगितामा शिक्षा क्याम्पस र सरस्वती क्याम्पसले विजयी सुरुवात गरेका छन् ।

आयोजक रत्नराज्यलक्ष्मी क्याम्पसको कोर्टमा सोमबार भएको उद्घाटन खेलमा सुर्खेतको शिक्षा क्याम्पसले चावहिलको पशुपति बहुमुखी क्याम्पसलाई २५–२२, २३–२५, २५–२० र २६–२४ को सेटमा हराउँदै दोश्रो चरणमा प्रवेश गरेको छ । त्यस्तै सरस्वती क्याम्पस लेखनाथ मार्गले घण्टाघरस्थित त्रिचन्द्र कलेजलाई २५–२२, २५–२३ र २५–२० को सोझो सेटमा हरायो ।

अर्को खेलमा जेरपाटीको पब्लिक युथ कलेजले कोटेश्वर क्याम्पसलाई २५–१३, २५–१९ र २५–२० को सोझो सेटमा हराउँदै दोश्रो चरणमा प्रवेश गरेको छ । चौथो प्रतिस्पर्धात्मक खेलमा जया बहुमुखी क्याम्पस जोरपाटीले कैलाली बहुमुखी क्याम्पसलाई २०–२५, २०–२५, २५–१६, २५–२१ र १५–८ को निर्णायक सेटमा हराउँदै अघिल्लो चरणको यात्रा तय गरेको छ ।

त्रिभुवन विश्वविद्यालय उपकुलपति प्राडा तिर्थराज खनियाले एशियन रेफ्री क्यानिडेड पुर्ण चम्लागाईलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । सो अवसरमा राखेपका सदस्य एवंम् त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय कार्यकारी प्रमुख गंगाबहादुर थापा, रत्नराज्यलक्ष्मी क्याम्पस प्रमुख डा.निर्मलाकुमारी सुवाल, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष टपेन्द्रबहादुर शाहीलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताका विजेता टिमले ५० हजार, उपविजेताले ३० हजार र तृतीयले २० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार हात पार्ने छ । नकाउटका आधारमा संचालन भएको प्रतियोगिता चैत्र ३१ गतेसम्म चल्नेछ । प्रतियोगितामा २२ क्याम्पसका टिम सहभागी रहेका छन् ।