प्रधानमन्त्री ओलीको तीन दिने भारत भ्रमण सफल र फलदायी: नेता महत

काठमाण्डौ, २६ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व-परराष्ट्रमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमण सफल र फलदायी बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता महतले नेपालका कुनैपनि प्रधानमन्त्रीहरूको भारत भ्रमण अहिलेसम्म असफल नभएको समेत बताए । दुई देशबीचको सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका खेलेको र भ्रमण फलदायी र उपलब्धिमूलक भएको उनको भनाइ छ ।

नेता महतले भारत भ्रमणमा जानुपूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँगको छलफलमा आफूले भारतसँग ठोस कुरा उठाउन सुझाव दिएको बताए । भारतसंग छलफल र सहमति भएका हरेक प्रस्तावहरूको गम्भीरतापूर्वक छलफल गर्न जरुरी रहेको उनले उल्लेख गरे ।

उनले हवाई रुट र बाणिज्यसम्बन्धी सन्धि भएको भए नेपालको अर्थ व्यवस्थामा ठोस उपलब्धि हुने भएपनि त्यो हुन नसक्नु दुःखद् भएको बताए । उनले वर्तमान सरकारले ल्याएको श्वेतपत्रप्रति टिप्पणी गर्दै श्वेतपत्रमा अर्थतन्त्रलाई अन्धकार देखाइएको बताए । बजेटमै नभएका योजनाको लागि बजेट छुट्याउनु दुःखद् भएको पनि उनको भनाइ छ ।

त्यस्तै नेता महतले मुलुकमा तीन तहको संघीय संरचना बनेसँगै कसले के काम गर्ने भन्ने जिम्मेवारी नै थाहा नभएको पनि बताए ।