अाँखाको निःशुल्क शल्यक्रिया

काठमाण्डौ, २६ चैत्र । काठमाडौंको त्रिपुरेश्वरस्थित आँखा अस्पतालले ४४ औं वार्षिकोत्सवका अवसरमा ४४ जना बिरामीको निःशुल्क शल्यक्रिया गरेको छ ।

वार्षिकोत्सवका अवसरमा सोमबार अस्पताल परिसर त्रिपुरेश्वरमा आयोजित कार्यक्रमकाबीच रक्षा मन्त्री इश्वर पोखरेलले शल्यक्रिया गरेका ४४ जनाको आँखाको पट्टी खोलिदिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले आँखाको ढोका बन्द भए संसारको ढोका बन्द हुने भन्दै आँखा उपचार सहज बनाउनु पर्ने धारणा राखे ।

मन्त्री पोखरेलले आँखाको उपचारबाट कोही पनि बञ्चित हुन नपरोस् भन्ने सरकारको नीति रहेकाले सरकार अस्पतालसँग सहकार्य गरेर अगाडि बढ्न इच्छुक रहेको उल्लेख गरे । अस्पतालले जनशक्ति विकास र अनुसन्धानको क्षेत्रमा काम गर्नुपर्ने भन्दै उनले सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिए । उनले सार्वजनिक सेवा गर्ने संस्थालाई राजनीतिक हस्तक्षेपमुक्त गरिने पनि बताए ।

अस्पतालले वार्षिक एक लाखभन्दा बढीको उच्च प्रविधिबाट आँखाको उपचार गर्दै आएको छ । कार्यक्रममा आँखाको उपचारमा सहयोग पुर्‍याउँदै आएका विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिएको थियो ।