सांस्कृतिक पर्वहरूमा सार्वजनिक बिदा कटौति गरेको भन्दै अान्दोलन

काठमाण्डौ, २६ चैत्र । सरकारले विभिन्न सांस्कृतिक पर्वहरूमा सार्वजनिक बिदा कटौति गरेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ आन्दोलित भएको छ ।

सोमबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै महासंघले नेपालका आदिवासी जनजाति समुदायले लामो समयदेखि मनाउँदै आएको सांस्कृतिक पर्वहरूको बिदा खारेजी गरिएको भन्दै पहिलो चरणको आन्दोलनको घोषणा गरेको हो । त्यस्तै महासंघले आदिवासी जनजाति लगाएत उत्पीडन वर्ग समूदायले उठाउँदै आएका सवालहरूलाई सम्बोधन गर्न अविलम्व संविधान संशोधन हुनुपर्ने माग अघि सारेको छ ।

संविधानको धारा ५६ को ५ अनुसार राजनीतिक अधिकारसहित विशेष संरक्षित र स्वायत्त क्षेत्र तुरुन्त गठन गर्न पनि महासंघले माग गरेको छ । सडक विस्तारको नाममा विनाश गर्ने कार्य रोकिनुपर्ने , गाईको मासु सेवनका लागि सरकारले मान्यता दिनुपर्न , पहिचान जनित आन्दोलनमा जेल जीवन बिताइरहेका बन्दीहरूलाई क्षतीपूर्तिसहित रिहाई गर्नुपर्ने माग पनि महासंघको छ ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष जगत बहादुर बरामले आफूहरूको माग सम्बोधन नभए दोश्रो चरणको आन्दोलन घोषणा गर्ने चेतावनी दिए । उनले सरकारले आफूहरूको सांस्कृतिक अधिकारमाथि हस्तक्षेप गरेको आरोप पनि लगाए ।

महासंघद्धारा चैत्र २७ देखि बैशाख २२ गते सम्मको घोषित आन्दोलनमा प्रधानमन्त्रीसहित सातै प्रदेशका मुख्य मन्त्रीलाई ज्ञापन पत्र बुझाउने , व्यानरसहित धर्ना दिने कोणसभा गर्ने, अन्तरक्रियात्मक कार्यक्रम गर्ने लगायतका छन् ।