Breaking News

खेलाडी सेवा सुविधा कार्यविधि तत्काल कार्यान्वयन गर्न माग

काठमाण्डौ, २६ चैत्र । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले खेलाडी सेवा सुविधा कार्यविधि तत्काल कार्यान्वयनका लागि सरकारसँग माग गरेको छ ।

संघले सोमबार युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मालाई ६ बुँदे ज्ञापन पत्र बुझाउँदै खेलाडीको सामाजिक सुरक्षा ग्यारेन्टी गर्नुपर्ने र यसका लागि राष्ट्रिय खेलकुद परिषद्बाट पारित कार्यविधि मन्त्रीपरिषद्बाट कार्यान्वयन गर्न माग गरेको हो । ज्ञापन पत्र बुझ्दै मन्त्री विश्वकर्माले खेल क्षेत्रको विकास र समृद्धि अपरिहार्य रहेको भन्दै खेल मैत्री नीति निर्माणका लागि सरकार गम्भीर भएको उल्लेख गरे ।

संघका अध्यक्ष दिपक श्रेष्ठको नेतृत्वमा गरेको टोलीले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरूलाई उपलव्ध गराउने भत्ताका विषयमा पनि नीति बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको जनाएको छ । नयाँ पुस्ताका खेलाडीलाई खेल क्षेत्रमा आकर्षण बढाउन र अभिभावकले पनि खेल क्षेत्रमा भविष्य छ भन्ने बुझ्ने गरी नीति ल्याउन आवश्यक रहेको संघको भनाइ छ ।

संघले नेपाली राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीलाई परिचय पत्र उपलव्ध गराउनुपर्ने, १३ औं सागको तयारी अहिलेदेखि नै अघि बढाउनुपर्ने, खेलका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने लगायतका सुझाव पनि दिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

shares