प्रथम नयाँ बसपार्क सडक महोत्सव हुने

काठमाण्डौ, २५ चैत्र । ‘सडकमा खाऔँ, सडकमा रमाऔँ, आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गरौँ’ भन्ने मूल नाराका साथ काठमाडौमा प्रथम नयाँ बसपार्क सडक महोत्सव हुने भएको छ ।

काठमाडौँ महानगरपालिका–२६, टोखा नगरपालिका–९, मित्रनगर विकास तथा सुधार समिति, नेपाली होटल व्यवसायी संघ लगाएत १७ संघसंस्थाको आयोजनामा नयाँ वर्षको अवसरमा चैत ३० र वैशाख १ मा नयाँ बसपार्क सडक महोत्सव हुने मित्रनगर विकास तथा सुधार समितिका अध्यक्ष एवं महोत्सवका संयोजक विष्णु पोखरेलले बताए ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले भूकम्पले जीर्ण नयाँ बसपार्क क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनका लागि महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । महोत्सवमा सडकमै विभिन्न खाना तथा वस्तुका कक्ष रहने र ख्यातिप्राप्त कलाकारबाट लोकदोहोरी तथा सांस्कृतिक कार्यक्रम हुने उनले बताए ।

महोत्सव आयोजक समितिका सचिव भेषराज भट्टराईले महोत्सव सफल बनाउन आर्थिक, प्रचारप्रसार, सुरक्षा, कक्ष वितरण, ट्राफिक व्यवस्थापन, स्वयंसेवक, कलाकार तथा साउण्ड सिष्टम र अनुगमन उपसमिति बनाइएको जानकारी दिए ।