सीवाइसी अत्तरीयाको जितसँगै डिपिएलको प्लेअफ समिकरण पूरा

निलम महर्जन/धनगढी, २५ चैत्र । धनगढी प्रिमियर लिग डिपिएलको प्लेअफ समिकरण पूरा भएको छ ।

धनगढीस्थित नेपाल प्रहरीको एसएसपी मैदानमा आज सम्पन्न लिग चरणको अन्तिम खेलमा सीवाइसी अत्तरीयाले विराटनगर किङ्सलाई ६ विकेटले हराएसँगै प्रतियोगिताको समिकरण पूरा भएको हो । प्लेअफका खेलहरू मंगलबारदेखि हुनेछन् ।

मंगलबार हुने क्वालिफायर्स्मा तालिकाको पहिलो स्थानमा रहेको काठमाडौं गोल्डेन्स् र दोस्रो स्थानको टिम चौराह धनगढीबीच प्रतिस्पर्धा हुनेछ । लिग चरणका अपराजित एकमात्र टोली नौ अंकका साथ तालिकाको पहिलो स्थानमा रहँदा दोस्रो स्थानको धनगढीले तीन जित र दुई हारका साथ ६ अंक जोडेको छ ।

त्यस्तै, मंगलबारनै हुने एलिमिनेटरमा तेस्रो स्थानको महेन्द्रनगर युनाईटेडले चौंथो स्थानको अत्तरीयाको सामना गर्नेछ । पाँच खेलमध्ये दुई जित एक हार र दुई खेल रद्द भएपछि महेन्द्रनगर ६ अंकका साथ तालिकाको तेस्रोमा रहँदा दुई जित दुई हार र एक खेल रद्द भएपछि अत्तरीयाले पाँच अंक जोड्दै प्लेअफमा स्थान बनाएको हो ।

प्रतियोगिता अन्तर्गत आज सम्पन्न लिग चरणको अन्तिम खेलमा सीवासी अत्तरीयाले विराटनगर किङ्सलाई ६ विकेटले हराउँदै अत्तरीयाले प्लेअफमा स्थान बनायो । ५६ रनको लक्ष्य सहित मैदानमा उत्रिएको अत्तरीयाले पाँच ओभर चार बलमा चार विकेट गुमाएर भेट्टायो । अत्तरीयाका लागि विपिन चन्द्राले २६ तथा दीपेन्द्रसिंह ऐरीले २० रन बनाए ।

यसअघि, निरन्तरको वर्षाका कारण ६ ओभरमा झारिएको खेलमा टस गुमाएर पहिले ब्याटिङ गरेको विराटनगरले पूरै ओभर खेल्दै तीन विकेट गुमाएर ५६ रन बनायो । विराटनगरका लागि अनिल शाह र दिलिप नाथले नटआउट १५-१५ रन बनाए । त्यस्तै, बाबर हायातले १४ रन जोडे । बलिङतर्फ अत्तरीयाका कमलसिंह ऐरीले दुई विकेट लिए ।

त्यस्तै, आजका लागि तय भएको काठमाडौं गोल्डेन्स् र महेन्द्रनगर युनाईटेडबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । गएरातिको भारी वर्षाका र आज बिहानको वर्षाका कारण टससमेत हुन नसकेपछि दुवै टोलीले एक-एक अंक बाँडेका थिए ।