जलवायु परिवर्तनसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन आगामी चैत्र २७ देखि काठमाण्डौमा

काठमाण्डौ, २५ चैत्र । खानेपानी, वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन आगामी चैत्र २७ देखि २९ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ ।

सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनियर्स (सोफेन ), खानेपानी तथा ढल निकास विभाग र नेपाल इन्जिनियर्स एसोसियसनले संयुक्त रूपमा उक्त सम्मेलनको आयोजना गर्न लागेका हुन् । आयोजकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘पानी, वातावरण तथा जलवायु परिवर्तन: ज्ञानको आदान प्रदान र साझेदारी’ नाराका साथ सम्मेलन हुन लागेको जनाएको हो ।

जनसंख्या वृद्धि र जलवायु परिवर्तनका कारण पानीको स्रोत र वातावरणमा परेका खराब असरले मानव जीवनले कठिन चुनौतीहरूको सामना गर्नु परिरहेको र यस मुद्धामा नेपालले लामो समयदेखि आवाज उठाउँदै आएकोले सम्मेलन यस विषयमा सरोकार राख्ने आयोजक नेपाल इन्जिनियर्स एसोसियसनका अध्यक्ष हरेराम श्रेष्ठले जानकारी दिए ।

सम्मेलनपूर्व चैत्र २६ गते नेपालमा फोहर पानी प्रशोधनको मार्गचित्र, दक्षिण एसियाली अनुभवबाट सिकाइ नामक गोष्ठीको आयोजना गरिने आयोजकको भनाइ छ । सम्मेलनको तयारी पूरा भएको आयोजकको भनाइ छ ।