प्यासन नेपालले नेपालगन्ज र दाङ्गमा न्यू इअर इभ कार्यक्रम गर्दै

सौरभ गिरी/ नेपालगञ्ज, २५ चैत्र । नेपालगन्जमा नयाँ वर्ष २०७५ न्यू एअर ईभ कार्यक्रम हुने भएको छ । इभेन्ट म्यानेजमेन्ट तथा सामाजिक कार्यमा योगदान पुर्याउने उदेश्यले स्थापना गरिएको प्यासन नेपालले नेपालगन्जमा नयाँ वर्ष २०७५ को अवसरमा न्यू इएर ईभ आयोजना गर्ने भएको हो ।
चैत्र ३० गते साँझ ५ बजेपछि होटल सोल्टीको प्राङ्गणमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूको प्रस्तुती रहने प्यासन नेपालले जनाएको छ ।चर्चित ब्याण्ड १९७४ एडी, पप गायक नबीन के.भट्टराई, सन्जिब सिंहलगायत स्थानीय कलाकारहरूले समेत प्रस्तुति दिने नेपालगन्जमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
त्यस्तै यसै किसिमको कार्यक्रम बैशाख १ गते दाङ्गको डोको होटलले समेत आयोजना गर्ने भएको छ । दाङ्गमा हुने कार्यक्रममा १९७४ एडी ब्याण्ड, कालीप्रसाद बसकोटा, सन्जिब सिंहलगायत स्थानीय कलाकारले प्रस्तुती दिने आयोजकले जनाएको छ । नेपालगन्ज र दाङ्गमा आयोजना हुने कार्यक्रमका लागि लगभग २३ लाख १० हजार रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ ।
प्यासन नेपालद्वारा आयोजना गरिएको कार्यक्रमबाट आर्जन भएको ५ प्रतिशत राप्ती टुरिज्म इनफरमेसन सेण्टरलाई दिने आयोजक प्यासन नेपालले जनाएको छ। सो न्यू इअर इभ कार्यक्रममा प्रवेश शुल्क भने आयोजकले २ किसिमले ब्यवस्था गरेको छ। कार्यक्रममा प्रवेश गर्ने एकल ब्यक्तिका लागि २५ सय रुपैयाँ र जोडीका लागि भने ४ हजार रुपैयाँ बराबरको टिकट निर्धारण गरिएको आयोजकले जनाएको छ ।
२०७४ सालमा स्थापना भएको प्यासन नेपाल यसपाली गर्ने कार्यक्रम पहिलो रहेको बताइएको छ । यस्तै न्यू इअर इभ नेपालगन्जमा हुने कार्यक्रमलाई भेस्पा एप्रिलाले समेत सहयोग गरेको छ । भेस्पा एप्रिला आफैंमा एउटा ब्राण्ड भएकाले आयोजकले सहकार्य गरेको जनाएको छ ।