Breaking News

हिमालय रोडिजको दोस्रो संस्करण बैशाख पहिलो साताबाट

काठमाण्डौ, २५ चैत्र ।  चर्चित टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’ को दोस्रो संस्करण बैशाखकाे पहिलो साताबाट सुरु हुने भएको छ ।
निर्देशक अमनप्रताप अधिकारीका अनुसार यस वर्ष हिमालय रोडिजको अडिसन इटहरीबाट सुरु गरिने भएको छ । चितवनमा बैशाख १०, बुटवलमा बैशाख १२ , पोखरामा बैशाख १५ र काठमाडौंमा बैशाख १८ गते अडिसन हुने जनाइएको छ ।
यस श्रृङ्खलाका निर्देशक अधिकारीले हिमालय रोडिजको पहिलो संस्करणले नेपालीहरूलाई स्वदेशमै उत्पादित टेलिभिजन कार्यक्रमतर्फ आकर्षित गर्नुका साथै स्थानीय दृश्यहरूतर्फ पनि प्रेरित गरेको बताए । उनले भने, “दोस्रो सिजन चुनौतीहरूले भरिएको छ र उत्तिकै मनोरञ्जनात्मक पनि छ । हामी एउटा समूहमा रूपमा नयाँ अध्यायका लागि निकै उत्साहित रहेका छौं।”
शोमा दिया मास्के, रेमण्ड दास श्रेष्ठ र आशिष राना ‘लाहुरे’ यस सिजनमा पुनः निर्णायकको भूमिकामा देखिने छन् । यस पटकका कार्यक्रम सञ्चालक भने पहिलो संस्करणका विजेता समन श्रेष्ठ र उप–विजेता अनिमेश शाही रहने छन् ।
शीर्षक प्रायोजक ‘यमाहा एफ.जेड.’ र स्टाइल पार्टनर‘सेटवेट’ रहेको यस वर्षको हिमालय रोडिजको सञ्चालन ‘रेडवुल’ र ‘किटक्याट’ ले गर्ने छन् । हिमालय रोडिजको दोस्रो संस्करणको विजेतालार्इ नगद २० लाख रूपैयाँ तथा एउटा यामाहा बाइक पुरस्कार प्रदान गरिनेछ ।
अत्यधिक रुचाइएको यस शोको गत संस्करणको अडिसनमा १० हजार प्रतियोगीले भाग लिएकामा अन्तिम चरणका लागि १८ जना छनोट गरिएको थियो । स्वदेशी माटो र परिवेश अनुसारको उक्त साहशिक क्रियाकलापले भरिपूर्ण कार्यक्रमले निकै चर्चा बटुलेको थियो ।
shares