Breaking News

५ महिनाभित्र शिक्षा क्षेत्रको सबै समस्या समाधान हुन्छ: मन्त्री पोखरेल

काठमाण्डौ, २५ चैत्र । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले पाँच महिनाभित्र शिक्षा क्षेत्रमा रहेको सबै समस्या समाधान गरिने दाबी गरेका छन् ।

आइतबार सिंहदरबारमा सातओटै प्रदेशका सामाजिक विकासमन्त्रीसँग छलफल गर्दै मन्त्री पोखरेलले केही समयभित्रै संघीय शिक्षा नीति बनाउन मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिए ।

शिक्षा क्षेत्र सुधारका लागि आयोजना गरिएको छलफल कार्यक्रममा मन्त्री पोखरेलले आगामी वैशाख २ गतेबाट विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरण अभियान सन्चालनमा मन्त्रालय जुटेको बताए ।

नयाँ शैक्षिकसत्र २०७५ मा विद्यार्थी भर्ना कार्यक्रमका लागि ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ नारा तय गरी विद्यार्थी भर्ना थप प्रभावकारी बनाउन मन्त्रालयले अभियान सुरु गरेको मन्त्री पोखरेलले बताए ।

संघीय शिक्षा नीति निर्माण भइरहँदा स्थानीय तहमा रहेका प्रतिनिधिलाई पनि उत्तरदायी बनाउँदै अघि बढ्ने उनको भनाइ छ । नागरिक समाज र राष्ट्रिय व्यक्तित्वहरूलाई पनि सामेल गराएर शिक्षा अभियानलाई सफल बनाएरै छाड्ने उनले बताए ।

छलफलमा प्रदेशका सामाजिक विकासमन्त्रीहरूले आधारभूत शिक्षा नीति कार्यान्वयनका लागि मन्त्रालयको ध्यानाकर्षण गरेका थिए । उनीहरूले केन्द्रिकृत मान्यताबाट माथि उठेर विकेन्द्रिकृत मान्यताका साथ अघि बढ्न सुझाव दिए ।

प्रदेशमा दक्ष जनशक्ति पठाउन र विद्यालयहरूमा आवश्यक पूर्वाधारको व्यवस्था मिलाउन मन्त्रालयलाई प्रदेश मन्त्रीहरूले आग्रहसमेत गरेका थिए ।

shares