फोनिजको अध्यक्षमा डण्ड गुरुङ पुनः निर्वाचित

काठमाण्डौ, २५ चैत्र । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को अध्यक्षमा डण्ड गुरुङ पुनः निर्वाचित भएका छन् ।

आइतबार बिहान सम्पन्न फोनिजको छैटौं महाधिवेशनबाट गुरुङ दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् । नयाँ कार्यसमिति वरिष्ठ उपाध्यक्षमा गजुर्धन राई, खुलातर्फ उपाध्यक्षमा लक्की चौधरी, महिला उपाध्यक्षमा देविका घर्तीमगर चयन भएकी छिन् ।

महासचिवमा भने मनोज घर्ती मगर सर्वसम्मत भएका छन् । वरिष्ठ उपाध्यक्ष राई यसअघि महासचिव र नवनिर्वाचित महासचिव मगर सचिवको जिम्मेवारीमा रहेका थिए । यस्तै संगठन सचिवमा मिलन लिम्बू, संस्थागत सचिवमा जगत दोङ र अल्पसंख्यक सचिवमा कमन देवान निर्वाचित भए भने कोषाध्यक्षमा अमरध्वज लामा र सहकोषाध्यक्षमा अञ्जना शिल्पकार चयन भए ।

निर्वाचनपछि आइतबार निर्वाचित पदाधिकारी र सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा फोनिजका अध्यक्ष दण्ड गुरुङले समावेशी सञ्चार निति निर्माणका लागि जोडदार माग हुने धारणा राखे ।

महाधिवेशनबाट खुल्ला केन्द्रीय सदस्य र संस्थागत सदस्यसमेत चयन भएको फोनिजले जनाएको छ। फोनिजको महाधिवेशन शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए ।