प्रधानमन्त्री ओलीद्वारा उत्तराखण्डको कृषि परियोजना कार्यक्रम अवलोकन

नयाँ दिल्ली, २५ चैत्र । तीन दिने राजकीय भ्रमणको तेस्रो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तराखण्डमा रहेको कृषि परियोजना कार्यक्रमको अवलोकन गरेका छन् ।

उक्त कार्यक्रमपश्चात् उनलाई गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले मानार्थ विद्यावारिधिले सम्मानित गर्दैछ । आज बिहानै प्रधानमन्त्री ओलीले केही राजनीतिक भेटघाट समेत गरिसकेका छन् ।

भारत भ्रमणको क्रममा प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हिजो भेटवार्ता भएको थियो । सो क्रममा दुवै देशले १३ बुँदे संयुक्त विज्ञप्ती सार्वजनिक गरेका थिए ।

संयुक्त विज्ञप्तीमा दिल्ली काठमाडौं रेलमार्ग निर्माणदेखि अरुण तेस्रो, पञ्चेश्वरलगायतका विभिन्न जलविद्युत परियोजनाको कामलाई गति दिने सहमति भएको थियो । भारत भ्रमणको क्रममा ओलीले नेपालका विविध आर्थिक क्षेत्रमा लगानी गर्न भारतीय सरकारी र नीजि क्षेत्रलाई आग्रह गरेका थिए ।

तीन दिने भारत भ्रमणको बिट मार्दै प्रधानमन्त्री ओली आजै साँझ काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।