‘हरिहरनाथ – मुक्तिनाथ सांस्कृतिक यात्रा’पुरा गरी तिर्थालुहरु फर्कदै

काठमाण्डौ २४ चैत्र । भारतकाे बिहारस्थित हरिहरनाथबाट १६ चैत्रमा सुरु भएकाे यसबर्षकाे ‘हरिहरनाथ – मुक्तिनाथ सांस्कृतिक यात्रा’ अाज नेपालकाे मुक्तिनाथ पुगेर समापन भएकाे छ ।

नेपाल र भारतका धार्मिकस्थलहरुलाई पर्यटन विकासमा जोडने उद्देश्यका साथ यो साँस्कृतिक यात्रा विगत २०६८ साल देखि प्रत्येक बर्ष अायोजना हुदै अाएकाे छ।

बिहारका विभिन्न स्थानबाट नेपालकाे बिराटनगर, जनकपुर, गाैर र  त्रिवेणीधाम, पोखरा हुदै यात्रा २३ चैत्रमा मुक्तिनाथ पुगेकाे थियो । यात्राकाक्रममा बिहार र नेपालका विभिन्न स्थानहरुमा धार्मिक जागरण सभाकाे अायोजना गरिएकाे  आयोजक संस्था धर्म जागरण समन्वय समितिका सहसचिव अनुप सिंहले बताए ।

यात्राका क्रममा तिर्थालुहरुलाई भारत र नेपालका विभिन्न स्थानमा स्थानिय धार्मिक संघ संस्था र व्यक्तिहरुले स्वागत तथा सम्मान गरेका थिए ।

परापुर्वकालमा भारतको हरिहरनाथदेखि नेपालको मुक्तिनाथसम्म साधुसन्तहरुको निकै आवतजावत हुने गरेको इतिहास छ । परापूर्व कालमा पवित्र गंगा नदीको संगमस्थल भारतस्थित हरिहर क्षेत्रबाट गंगाको उद्गमस्थल नेपालको मुक्तिनाथ क्षेत्रसम्म नदीको किनारै- किनार तिर्थ यात्रा हुने गरेकोले यसको एतिहासिक महत्व रहदै आएको छ । त्यसैको निरन्तरताका रुपमा नयाँ पुस्ताले ‘हरिहरनाथ – मुक्तिनाथ सांस्कृतिक यात्रा’को आयोजना गर्दै आएको छ ।

यस बर्षकाे यात्रामा नेपाल र भारतका गरी करिब ३ सय बढी तिर्थालुहरुकाे सहभागिता रहेकाे थियो ।