एक लाख घुससहित शिक्षाका २ इन्जिनियर अख्तियारको फन्दामा

पोखरा, २३ चैत्र । जिल्ला शिक्षा कार्यालय कास्कीका दुई इन्जिनियर एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

विद्यालय भवन निर्माण सम्पन्न भएपश्चात् बिल भुक्तानी दिने क्रममा घुस मागेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले उनीहरूलाई १ लाख रुपैयाँको घुस लिँदै गर्दा पोखरा चिप्लेढुंगाको एक रेस्टुरेन्टबाट प्रक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इन्जिनियर प्रदीपकुमार बानियाँ र सब-इन्जिनियर छबिन् विक्रम खाँड रहेका छन् । मादी गाउँपालिका-८ स्थित नारायण आधारभूत विद्यालयको भवन निर्माणको बिल फर्छ्यौटको क्रममा उनीहरू पक्राउ परेका हुन् ।

आयोगका सूचना अधिकारी रमेश ढकालले भने, “विद्यालयको भवन निर्माण सम्पन्न भइसकेपछि भुक्तानी दिने क्रममा उनीहरूले घुस मागेका रहेछन् ।”

पक्राउपश्चात् उनीहरूमाथि थप अनुसन्धान सुरु गरिएको छ ।