Breaking News

स्वास्थ्य मन्त्रालयको गेटमै खानतलासी, सूर्तिजन्य पदार्थ फ्याँकेर मात्रै प्रवेश गर्न पाइने

काठमाण्डौ, २३ चैत्र । स्वास्थ्य मन्त्रालय परिसरमा सूर्तिजन्य पदार्थको प्रयोग गर्न मात्रै नभई खल्तीमा बोकेरै जान पनि प्रतिबन्ध लगाइएको छ ।

सूर्तिजन्य पदार्थको खानतलासी गर्न गेटमा बसेका सुरक्षाकर्मीले बुधबार मात्रै मन्त्रालय प्रवेश गरेका कर्मचारी तथा सेवाग्राहीबाट ५ प्याकेट चुरोट र १५ प्याकेट सूर्ति फेला पारेका छन् । उनीहरूलाई सुरक्षाकर्मीले गेटमा राखेको बाल्टीमा सूर्तिजन्य पदार्थ फ्याँकेर मात्रै मन्त्रालय प्रवेश गर्न दिइएको छ ।

नीतिको कार्यान्वयन आफैंबाट सुरु गर्ने भन्दै गत साता स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सूर्तिजन्य पदार्थ बोकेर मन्त्रालय छिर्न नपाउने उदघोष गरेकी थिइन् । प्रहरीले सर्वसाधारणदेखि मन्त्रालयका कर्मचारीलाई समेत खानतलासी लिने गरेको छ । त्यसका लागि मन्त्रालयले दुई दुई जना गरी पुरुष र महिला प्रहरीलाई मुल गेटमा खटाएको छ । पुरुषहरूलाई पुरुष प्रहरीले र महिलाहरूको लागि महिला प्रहरीले खान तलासी लिने गरेको छ ।

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन, २०६८ को दफा ४ मा सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको सेवन गर्न नपाइने व्यवस्था रहेको छ भने दफा ५ मा सार्वजनिक निकायलाई धुम्रपान तथा सूर्ति सेवन निषेधित क्षेत्र तोक्नुपर्ने व्यवस्था छ । सोही ऐनको कार्यान्वयन गर्न भन्दै मन्त्रालयमा सूर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी गतिविधि अघि बढाइएको छ ।

shares