सय दिनका लागि युवा तथा खेलकुद मन्त्रालयले ल्यायो ३७ बुँदे कार्ययोजना

काठमाण्डौ, २३ चैत्र । युवा तथा खेलकुद मन्त्रालयले सरकार गठन भएको सय दिन भित्र सम्पन्न गर्ने गरी ३७ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ ।

शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री जगत बहादुर विश्वकर्माले उक्त कार्यक्रम बुँदागत रूपमा सार्वजनिक गरेका हुन् । कार्ययोजनामा खेलकुदका लागि भौतिक पूर्वाधारदेखि क्रिकेट संघको विवाद समाधान गर्नेसम्मको सूची समावेश छ ।

यस्तै युथ भिजन २०१५ लगायत युवा स्वरोजगार कार्यक्रमहरू पनि समेटिएको छ । मन्त्री विश्वकर्माले समयअवधी छोटो भएपनि वर्तमान सरकार गठन भएको सय दिनभित्र काम गर्ने प्रतिवद्धता व्यक्त गरे । सार्वजनिक बुँदामा १३ औँ सागको लागि भौतिक पूर्वाधारको स्तर उन्नति गर्ने, आवश्यक रंगशाला, कभर्ड हललगायत पूर्वाधार समयै बनाउने उल्लेख छ ।

तर मन्त्री विश्कर्माले नेपालमै अर्को वर्ष आयोजना हुन लागेको १३औँ दक्षिण एसियाली खेलकुद सबैभन्दा संवेशदनशील विषय भएको बताएका छन् । उनले आगामी बजेटमा युवा तथा खेलकुद क्षेत्रका लागि उत्कृष्ट कार्यक्रम ल्याउने बताए । यसैगरी अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने नेपाली खेलाडीलाई सरकारी सेवामा छुटको व्यवस्था गर्नको लागि अध्ययन गर्दै यसअघि भएको व्यवस्थालाई कायम राख्ने उनले बताए ।

मन्त्री विकले क्रिकेट संघको विवाद चाँडोभन्दा चाँडो समाधान गर्न पहल गर्ने बताए । मन्त्रीले सार्वजनिक गरेको क्रियाकलापमा युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहनेगरी मन्त्रालयअन्तर्गत रहेका संघ(संस्थाहरूको पुनसंरचना गर्ने, ऐन निर्माण तथा संशोधन गर्ने, राष्ट्रिय खेलकुद नीति २०६७ परिमार्जन गर्ने विषय उल्लेख छ ।