वैशाख २ गतेबाट विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान

काठमाण्डौ, २३ चैत्र । सरकारले आगामी वैशाख २ गतेबाट विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान सञ्चालन गर्ने भएको छ ।

शिक्षा मन्त्रालयमा शुक्रबार विद्यार्थी भर्ना तथा निःशुल्क पाठ्यपुस्तक वितरणसम्बन्धी विशिष्ट व्यक्तिसँगको अन्तर्क्रिया कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयभन्दा बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउन पाठ्यपुस्तकसहित वैशाख २ गतेबाट भर्ना अभियान सञ्चालन गरिने बताए ।

मन्त्री पोखरेलका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली वैशाख ५ गते कर्णाली पुगी एकजना विद्यार्थीलाई भर्ना गराउनेछन् । उनले यस पटकको भर्ना अभियान स्थानीय तहका जनप्रतिनिधि, सामाजमा योगदान पुर्याएका विशिष्ट व्यक्ति, शिक्षाप्रेमी, वुद्धिजीवी र राजनीतिक व्यक्तिलाई पनि सामेल गराई अधिकतम विद्यार्थीलाई विद्यालयमा भर्ना गराउने जानकारी गराए ।

विपन्न, गरिब, सीमान्तकृत, लोपोन्मुख र पिछडिएको वर्गका न्यूनतम स्टेशनरी र पोशाकको व्यवस्थासहित भर्ना अभियान गरिदिनसमेत मन्त्री पोखरेलले आग्रह गरेका छन् । उनले सबै मन्त्रालयका सचिव र सहसचिव सय जनालाई विद्यार्थी भर्ना अभियानमा लाग्न निर्देशन दिइसकेको जानकारी गराए ।

विद्यालय तहको शैक्षिक तथ्याङ्क २०७४ अनुसार प्राथमिक तहमा पाँच-नौ वर्ष २.८ प्रतिशत र कक्षा १ देखि ८ सम्म ५ देखि १२ वर्ष उमेर समूहका ७ दशमलव ७ प्रतिशत विद्यार्थी विद्यालयभन्दा बाहिर रहेका छन् । यस वर्षको भर्ना अभियानको लागि सरकारले ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ आर्दश वाक्य तय गरिएको छ ।