मुलपानी क्रिकेट मैदान सरकार आफैंले बनाउने, धुर्मुसलार्इ पोखरा जान प्रस्ताव

काठमाण्डौ, २३ चैत्र । सरकारले मुलपानी क्रिकेट मैदान आफैं बनाउने बताउँदै धुर्मुस सुन्तली फाउण्डेसनलाई पोखरा जान प्रस्ताव गरेको छ ।

कलाकार सिताराम कट्टेल धुर्मुसले क्रिकेट रंगशाला बनाउने घोषणा गर्दै मुलपानी, चितवनसहितका स्थानमा जग्गा हेरेका छन् । फाउण्डेसनका पदाधिकारीहरूले खेलकुदमन्त्री जगत विश्वकर्मालाई भेटेर प्रपोजलसमेत बुझाएका छन् ।

औपचारिक निर्णय नभएपनि मुलपानी वा चितवनमा रंगशाला बनाउने सकिने देखिएको छ । तर, युवा तथा खेलकुद मन्त्रालयले मुलपानीको रंगशाला आफैं बनाउने बताएको छ । मन्त्री विश्वकर्माले जग्गा विवाद मिलाउन प्रयत्न गरिसकेको भन्दै छिट्टै समाधान गरेर काम थाल्ने र २ वर्षभित्र निर्माण सक्ने बताए ।

सरकारले रंगशाला निर्माणमा जुटेका धुर्मुसलाई पोखरामा क्रिकेट रंगशाला बनाउन प्रस्ताव गरेको छ । अन्तराष्ट्रिय विमानस्थल भएको ठाउँमा रंगशाला बनाउँदा राम्रो हुने कारण देखाउँदै सरकारले पोखरा जान वा काठमाण्डौकै अर्को कुनै ठाउँमा क्रिकेट रंगशाला निर्माण गर्न प्रस्ताव गरेको बताइएको छ ।