Breaking News

राष्ट्रलाई एकताबद्ध गर्न खेल महत्वपूर्ण: प्रचण्ड

काठमाण्डौ, २३ चैत्र । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रलाई एकताबद्ध गर्न खेल क्षेत्र महत्वपूर्ण भएको बताएका छन् ।

अन्तराष्ट्रिय टेबुल टेनिस दिवसको अवसरमा टेबल टेनिस एशोसिएशनले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले खेलकूदको विकासले राष्ट्रको पहिचान स्थापित हुने बताए । ‘एउटा सभ्य र अनुशासित समाज निर्माण गर्न, स्वस्थ समाज निर्माण गर्न र राष्ट्रलाई एकताबद्ध गर्नका निम्ति पनि खेल क्षेत्र असाध्यै महत्वपूर्ण र संवेदनशील क्षेत्र हो’ उनले भने, ‘स्वास्थ्यको लागि, राष्ट्रको लागि, समृद्धिको लागि र सभ्य समाजको लागि खेलको मान्यतामा निरन्तर अगाडि बढ्न सबैलाई आग्रह गर्दछु ।’

अध्यक्ष प्रचण्डले आफू हाइस्कूलमा पढ्दा फुटबल, हाइस्कुल सकेपछि भलिबल र बिएस्सी पढ्दा टेबुल टेनिस खेल्न थालेको, अहिले पनि टेबुल टेनिस खेल्ने गरेको बताए । आफू प्रधानमन्त्री हुँदा अन्तराष्ट्रिय खेलाडी तारिफ खानसँग टेनिस खेलेको फोटो विश्वभरि फैलिएको स्मरण गर्दै उनले भने, ‘मैले टेबुल टेनिस खेलेको कुरा विश्वभरि प्रचार भएछ । मैले टेबुल टेनिस खेल्दा एशोसिएशनले पिस अवार्ड प्राप्त गरेको सुन्दा विशेष हर्ष र गर्व महसूस भएको छ ।’

कार्यक्रममा प्रचण्डले सबै खेलाडीलाई बधाई र धन्यबाद दिए ।

shares