Breaking News

मापदण्ड विपरीत सञ्चालनमा रहेका अवैध उद्योग बन्द

जगदीश खनाल/नुवाकोट, २३ चैत्र । तोकिएको मापदण्ड विपरीत सञ्चालनमा रहेका नुवाकोटका बालुवा प्रशोधन उद्योग अर्थात फिरफिरेलाई जिल्ला अनुगमन समितिले बन्द गराएको छ । अवैध सञ्चालनमा रहेका उद्योगले बालुवा प्रशोधनबाट उत्पन्न हुने धमिलो पानी शुद्धिकरण नगरी सिधै नदीमा मिसाएर प्रदूषण बनाएपछि सयुक्त अनुगमन टोलीले मापदण्ड विपरीतका उद्योग धमाधम बन्द गराएर कारबाही सुरु गरेको हो ।

नुवाकोटको त्रिशूली र तादी नदी आसपासमा सञ्चालनमा रहेका फिरफिरे उद्योगहरू मापदण्ड पूरा नभई सञ्चालनमा रहेको पाइएपछि जिल्लास्थित संयुक्त अनुगमन टोलीले बन्द गराउन थालेको छ । उद्योग विकास शाखाको आयोजनामा जिल्ला अनुगमन समितिको सयुक्त टोलीले गरेको स्थलगत अनुगमनमा भेट्टिएका ६३ उद्योग सबै मापदण्ड विपरीत र अवैध पाइएपछि बन्द गराइएका छन् ।

बालुवा प्रशोधनपछि तीनतहमा हुने शुद्धिकरण पोखरी निर्माण नगरी सिधै त्रिशूली र तादीमा धमिलो पानी मिसाएर नदीको प्रदूषण बनाएको पाइएपछि कारबाहीमा पहिलो चरणमा उद्योग बन्द गराइएको छ । अवैध र मापदण्ड विपरीत भएकाले बन्द गराएका ६३ उद्योगमा २६ उद्योग दर्ता नै नगरी नदी र वातावराणको प्रदूषणसहित राज्यलाई ठूलो रकम करसमेत छली गर्दै आएको पाइएको छ ।

नदी र डाँडाको अवैध उत्खनन गरी सञ्चालनमा रहेका उद्योगले राजश्व छली, तस्करी र अपराध बढाइरहेको आरोप कायमै रहेको छ । यो सगसगै न्युनतम मापदण्ड अन्तरगत पानी शुद्धिकरण समेत नगरी सिधै नदीमा मिसाएर चैत महिनामा पनि तादी र त्रिशूलीलाई बर्खाको भेल जस्तै धमिलो बनाएपछि कारबाही गन बाध्य भएको अनुगमन टोलीले जनाएको छ ।

सरकारी तथ्याङ अनुसार नुवाकोटमा ४९ वटा फिरफिरे उद्योग हुनुपर्नेमा जारी रहेको अनुगमनमा दर्ता नभई चलेका थप उद्योग भेट्टिएपछि उनीहरू सबै कारबाहीको दायरामा तानिएका छन् । कानूनको मिचाइ गर्ने उद्योग बन्द भएसँगै नुवाकोट हुँदै बगिरहेका तादी र त्रिशूली नदी निर्मल र कञ्चन देख्न थालिएको छ । यहाँका नदीले पाएको पुर्नजीवन कायम राख्न अझै मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका क्रसर उद्योगलाई समेत नियमनको दायरामा ल्याउनुपर्ने देखिएको छ ।

shares