भन्सार छलेको सामान बरामद

पंकज शर्मा/झापा, २३ चैत्र । झापाको दक्षिणी सीमा क्षेत्र केचनाबाट जिल्ला प्रहरी कार्यालयको टोलीले ठूलो परिणाममा भन्सार छलेको सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले दिएको विवरण अनुसार भारतबाट भन्सार छली तीनवटा मोटर साइकलमा राखेर नेपाल भित्र्याउदै गरेको गोप्य सूचनाको आधारमा गएको प्रहरीले कचनकवल ४ मा शुक्रबार बिहान तीनवटा मोटरसाइकलसहित अन्दाजी पाँचलाख मूल्य बराबरको सामान बरामद गरेको जनाएको छ ।

प्रहरीले बरामद गरेको सामानमा मोटरपार्टस, हाडवेयर, सुर्ती रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक बिष्णुकुमार केसीले जनाए । सामान तस्करीमा प्रयोग भएका मे४प ९४७९ , मे२प ६४०६ र मे६प ३८०९ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको एसपी केसीले जानकारी दिए ।

नियन्त्रणमा लिएका प्रत्येक मोटरसाइकलको ५० हजारका दरले डेढलाख र बाँकी सामानको गरी अन्दाजी पाँचलाख मूल्य कायम गरी मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको प्रहरी कार्यालय झापाले जनाएको छ । झापामा तस्करी बढेसँगै जिल्ला तथा संघीय प्रहरी इकाइका प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएका छन् ।