सम्पदा पुनर्निर्माणलाई तीव्रता दिन मन्त्री अधिकारीको निर्देशन

काठमाण्डौ, २२ चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले सम्पदा पुनर्निर्माणलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

बिहीबार काठमाण्डौ महानगरपालिकाले गरेको छलफल कार्यक्रममा मन्त्री अधिकारीले रानीपोखरी, धरहरालगायत सम्पदा पुनर्निर्माणमा देखिएको अन्योलतालाई अन्त्य गर्दै पुनर्निर्माण तीव्र पार्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । उनले रानीपोखरी परम्परागत निर्माण सामग्रीद्वारा नै मौलिकता नबिग्रने गरी पुनर्निर्माण गर्न र रानीपोखरीमा सौन्दर्यकरण गर्न काठमाडौं महानगर र पुरातत्व विभागलाई समन्वय गरेर अगाडि बढ्न आग्रह गरेका थिए ।

त्यस्तै छलफलमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले रानीपोखरी निर्माणका लागि पुरातत्व र विज्ञहरूको रिपोर्ट बाझिएको भन्दै काम गर्न अन्यौलता सिर्जना भएको बताए । त्यस्तै उपमेयर हरिप्रभा खड्गीले रानीपोखरीमा पानी जम्न नसक्ने अवस्था देखिएको भन्दै आफूले स्मारक बनाउने सोचेको बताए ।

२०७२ वैशाख १२ को भूइँचालोका कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पूर्णरूपमा क्षतिग्रस्त भएको थियो भने मन्दिर वरपरका पर्खालमा पनि आंशिक क्षति पुगेको थियो । ०७२ माघ २ मै राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीबाट पुनर्निर्माण अभियान सुरू गरेपनि पुनर्निर्माण अघि बढ्न सकेको छैन । रानीपोखरी निर्माणका विषयमा केही समयअघि काठमाण्डौका मेयर र उपमेयरबीच विवाद उत्पन्न भएको थियो ।