Breaking News

प्रदेश ३ को स्थायी राजधानी हेटौंडा नै उपयुक्त: कमल थापा

हेटौंडा, २२ चैत्र । प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौँडालाई बनाउनको लागि राप्रपा अध्यक्ष कमल थापाले आग्रह गरेका छन् । राप्रपा हेटौँडा नगर कमिटिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै पूर्व-उपप्रधानमन्त्री थापाले प्रदेश ३ राजधानीको लागि हेटौँडा सबैभन्दा उपयुक्त भएको बताएका हुन् ।

कार्यक्रममा बोल्दै थापाले भने, “प्रदेश नंबर १ का ताप्लेजुङे बिराटनगर पुग्न हुने, प्रदेश नंबर ६ को हुम्ला, डोल्पाले सुर्खेत पुग्न हुने, प्रदेश नंबर ७ को दार्चुलाले धनगढी पुग्न हुने तर प्रदेश नंबर ३ मा चैं हेटौँडा आउन नुहेने भन्ने नि हुन्छ ?”

प्रदेश नंबर ३ को राजधानी हेटौँडा आउन प्रदेशका सबै जिल्लाले अहिलेकै अवस्थामा जम्मा ५,६ घण्टा यात्रा गरे पुग्ने देखिन्छ भने निर्माणधीन द्रूत मार्ग, कान्तिराजपथ, धरान-चतरा सडक निर्माण भएपछि प्रदेश नंबर ३ को जुनसुकै जिल्लाबाट पनि यो भन्दा छोटो समयमा हेटौंडा आउन सकिने बताउँदै नेता थापाले स्थायी राजधानी हेटौँडाको विषयमा विवाद नगर्न सबैलार्इ आग्रह गरे ।

कार्यक्रममा बोल्दै थापाले सरकारले हिन्दुहरूको आस्थामाथि ठाडो प्रहार गर्दै बिदा कटौती गरेकोमा आपत्ती समेत प्रकट गरे । उनले क्रिश्चियनहरूको क्राइष्टको जम्मोत्सवमा बिदा दिने सरकारले सनातन धर्मका आस्था भगवान श्रीकृष्ण र रामको जन्मोत्सवमा बिदा कटौती गर्ने काम गरेको भन्दै वर्तमान सरकारको आलोचना गरे ।

कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा देशलाई असर गर्ने कुनै सन्धी सम्झौता नगर्न सुझाव समेत दिए । ओलीको भ्रमणमा सन् १९४५ को सन्धीको पुनारावलोन हुनुपर्ने, भारतले निर्माण गर्ने भनेको पञ्चेश्वर आयोजना तथा हुलाकी राजमार्गको विषयमा गर्ने या नगर्ने निर्णय हुनुपर्ने, नेपाल-भारत ब्यापार सम्झौताको पुनरावलोकन हुनुपर्ने विषयलाई गम्भीर ढंगबाट उठान गर्नुपर्ने सुझाए ।

shares