एमाले र माओवादीबीच वैशाख ९ गते पार्टी एकता गर्ने सहमति

काठमाण्डौ, २२ चैत्र । नेकपा एमाले र माओवादीबीच वैशाख ९ गते पार्टी एकता गर्ने सहमति जुटेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले वैशाख ९ गते पार्टी एकता गर्ने निर्णय गर्दै तयारी थाल्न एमाले र माओवादीलाई निर्देशन दिएको हो । बैठकपछि एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले पार्टी एकता वैशाख ९ गते गर्ने सहमति भएको जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्के लगत्तै पार्टी एकताको वार्तालाई अन्तिम र ठोस बनाउने सहमति भएको माओवादी नेता श्रेष्ठले बताए । यसअघि कार्यदलले दिएको सुझाव अनुसार नै आउँदो वैशाख ९ गते पार्टी एकताको औपचारिक अर्थात विधिवत घोषणा हुने र त्यसका लागि दुवै पार्टीमा आन्तरिक तयारी तथा छलफल गर्न पनि निर्देशन दिने सहमति भएको उनको भनाइ छ ।

संयोजन समितिको बैठकमा कार्यदलमा सहमति नजुटेका तीनवटा विवादित विषयमा भने सहमति जुट्न सकेन । संगठनात्मक स्वरुप निर्धारण र विधान मस्यौदा समितिले बुझाएको प्रतिवेदनमाथि पनि छलफल मात्र सुरु भएको नेता श्रेष्ठले जानकारी दिए । दुई दलबीच चुनाव चिह्न, प्रस्तावनामा जनयुद्ध र ५०–५० को सहभागिताका विषयमा कुरा मिल्न सकेको छैन ।